दिवाकर अधिकारी
काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले सामुहिक भेटवार्ता गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न राप्रपाका शीर्ष नेताहरु दमक पुगेका थिए । बुधबार दिउँसो राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, महामन्त्री धवलशमशेर राणा, नेताहरु प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्रले भेटेका थिए ।
भेटपछि राप्रपाका नेताहरुको बीचमा ज्ञानेन्द्र शाह उभिएको तस्वीर सार्वजनिक भएको छ । यसअघि केही समय अगाडि झापामै आयोजित एक सार्वजनिक समारोहमा पनि ज्ञानेन्द्र शाह सहभागी भएका थिए । पूर्व रानी कोमल र पूर्व युवराज पारस सहित ज्ञानेन्द्र शाह सार्वजनिक मञ्चमा बसेका थिए ।
उक्त सभामा ज्ञानेन्द्र शाह र उनको परिवारका कसैले पनि मन्तव्य दिएनन् । तर अरु राजनीतिक दलका नेताहरुले चासोका साथ हेरेका थिए । सत्तारुढ गठबन्धनका नेताहरुले संयुक्त बक्तव्य जारी गरेर उक्त घटनाप्रति ध्यानाकर्षण जनाएका थिए । तर त्यो बक्तव्य लगत्तै राजधानी काठमाडौंमा राजवादीहरुको प्रदर्शन भयो ।
विवादित ब्यावसायी दुर्गा प्रसाइको अगुवाइमा राजधानीमा राजावादीहरुको प्रदर्शन भएको थियो । बिना कुनै अवसर राजतन्त्रको मागसहित भएको यो प्रदर्शन संभवतः गणतन्त्र स्थापना पछि पहिलोपटक हो । यसअघि राप्रपाले राजतन्त्रको माग सहित पार्टी कार्यक्रम मार्फत् राजतन्त्रको वकालत गर्नेदेखि पृथ्वीनारायण शाहको जन्मदिनमा विशेष कार्यक्रम गर्ने गरेको थियो ।
तर यसपटक भने खुलेर सार्वजनिक प्रदर्शन भइरहेको छ । त्यसको जग राप्रपाले यसपटक अनपेक्षित मत पाउनु पनि हो । गणतन्त्र स्थापना भएपछि भएका चार चुनाव मध्ये यसपटक नै सात जना प्रत्यक्षतर्फ राप्रपाका नेताहरु निर्वाचित भए ।
२०६४ र २०७० मा राप्रपाका नेताहरुले कतै जित्न सकेको थिएन । २०७४ मा लिङदेनले झापाबाट तत्कालीन वाम गठबन्धनको समर्थनमा चुनाव जितेका थिए । यसपटक प्रत्यक्ष र समानुपातिक गरी १४ जना सांसद राप्रपासँग छ । गणतन्त्र स्थापनापछि संभवतः यो राप्रपाको ठूलो उपलब्धि हो ।
०७० को चुनावमा समानुपातिकबाट २५ सिट जितेपनि प्रत्यक्षतर्फ जित्न सकेको थिएन । यसपटक अनपेक्षित मत पाएपछि राजावादीहरुको उत्साह रोकिएको छैन । १० पुसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा राप्रपाको समर्थन थियो । त्यही समर्थनलाई आधार बनाएर ३ माघमा लिङदेनसहित तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भयो ।
ती मन्त्रीहरुले सिंहदबारभित्र पृथ्वीनारायण शाहको तस्वीर राखेका थिए भने पदभार ग्रहण गरिरहँदा हिन्दू वैदिक अनुसार मन्त्रो जप गरेका थिए । ०६२÷०६३ सालको जनआन्दोलन पछि यो पहिलोपटक भएको थियो । अहिले ज्ञानेन्द्र शाहको गतिविधि मात्रै नभएर संसदमा समेत राजावादी आवाज तुलनात्मक बलियो देखिएको छ । प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको विरोधमा नबोल्न मन्त्री भएकै बेला राप्रपाका नेताहरुलाई चुनौती दिएका थिए ।
तर राप्रपाका सांसदहरुले अहिले हरेकजसो संसदीय गतिविधि, छलफल र निर्णयमा आफ्नो पक्षधरता लिएर आवाज राखिरहेका छन् । राजावादीहरुको आवाज बढेपछि गणतन्त्र पक्षधर नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाउन थालेका छन् ।