काठमाडौं, ११ चैत । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश पूर्णरुपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन् ।
टोखा नगरपालिका राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अधिवेशनमा बोल्दै उनले सरकारले रोजगारीको कमी हुदाँ देशका ५० लाख युवाहरु बाहिरिनु पर्ने अवस्था आएको उल्लेख गरे ।
राष्ट्र बैंक र सरकार रमिता हेरेर बसिरहेको भन्दै सरकारले अनुदान दिएका संस्थाहरु कामको सट्टा ब्याज खाएर बसिरहेको बताएका छन् ।
उनले भने, ‘देश पूर्णरुपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको छ । देशका ५० लाख युवाहरु बाहिरिनु परेको छ । भएका कल कारखानाहरु चल्ने अवस्थामा छैनन् । बैंकको ब्याज बढेको बढै छ । ८ प्रतिशतको ऋण अहिले १६, १७ प्रतिशत पुगेको छ । राष्ट्र बैंक र सरकार रमिता हेरेर बसेको छ । सरकारले अनुदान दिएका संस्थाहरु काम होईन पैसा जम्मा पारेर ब्याज खाएर बसिरहेका छन् ।
उनले देशको अवस्थामा सुधार ल्याउनु भन्दा पहिला देशको राजनीतिमा सुधार ल्याउनु पर्ने बताए । जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेको महिलाहरुले देश परिवर्तनको लागि राजनीतिमा आउनु पर्ने उनको भनाई थियो ।
देश र जनतामा निराशा छाएको भन्दै राजनीतिक दलहरु देश र जनताको अवस्थामा होईन आफ्नो अवस्थामा बढी चिन्तित देखिएको उनको दाबी छ । उनले मसानघाटसम्म सत्तासँगै जान खोज्ने र सत्ता छोडेपछि जेल जानुपर्छ भन्ने डरले सत्ता टिकाउन लाग्नेहरुको संख्या बढ्दै गएको हुनाले देशमा राजनीतिक अस्थिरता बढ्दै गएको समेत बताएका छन् ।