काठमाडौं । अहिले आफ्नो भविष्यको चिन्ता गर्दै युवापुस्ता विवाहको लागि झट्ट तयार हुँदैन् ।

धेरै देशमा युवाहरुमा बिहे नगर्ने प्रचलन तिव्र गतिमा बढिरहेको छ । यसैबीच, एक चकित पार्ने अध्ययन बाहिर आएको छ, जसले तपाईं अविवाहित रहन वा सम्बन्धविच्छेद गर्नबाट रोक्न सक्छ ।

अविवाहित व्यक्तिको तुलनामा विवाहित व्यक्तिको आयु लामो हुने कुरा बाहिर आएको छ ।

अध्ययनमा विवाहित व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुने कुरा देखिएको छ । ग्लोबल एपिडेमियोलोजीमा प्रकाशित नयाँ अध्ययनका अनुसार विवाहले महिलाको मृत्युदर एक तिहाइले घटाउन मद्दत गर्छ ।

खोजकर्ताहरूले सांस्कृतिक परिवर्तनले विवाहलाई लिएर हाम्रो दृष्टिकोण परिवर्तन गरे पनि यसले समग्र स्वास्थ्यमा धेरै सुधार गरेको देखाएको उल्लेख गरेका छन् । वाल स्ट्रीट जर्नलको एक लेखमा, अध्ययनका दुई लेखक, जो हार्वर्ड विश्वविद्यालयका प्राध्यापक पनि हुन्, उनीहरु लेख्छन्, ‘हाम्रो अध्ययनको निष्कर्षले विवाहको महत्त्वलाई अझ बलियो बनाउँछ । विवाहजस्तो सुन्दर संस्थाको महत्वलाई इन्कार गर्ने समाजका लागि यो सङ्केत हो ।’

अध्ययनमा ११८३० अमेरिकी महिला नर्सहरू समावेश थिए, जसमध्ये अधिकांश श्वेत र अपेक्षाकृत राम्रो स्थितिमा थिए । ती सबै नर्सहरूले १९९० को सुरुमा विवाह गर्ने निर्णय गरेका थिए । अध्ययनमा भर्ना हुनु अघि कुनै पनि महिलाको विवाह भएको थिएन ।

दशकौंपछि, १९८९ र १९९३ बीच विवाह गरेका सहभागी नर्सहरूलाई कहिल्यै विवाह नगर्नेहरूसँग तुलना गरिएको थियो । शोधकर्ताहरूले विवाहपछि महिलाको जीवनमा करिब २५ वर्षपछि कसरी सुधार आयो भनेर जाँच गरे ।

अनुसन्धानकर्ताहरूले विवाहित महिलाको शारीरिक, मानसिक स्वास्थ्य र उमेरलाई ध्यानमा राखेका थिए । त्यस समयमा विवाहित महिलाहरूमा अविवाहित महिलाहरूको तुलनामा मृत्युको जोखिम ३५ प्रतिशत कम देखियो ।

अध्ययनमा ती महिलाहरूलाई पनि समावेश गरियो, जसले विवाहपछि पछिल्ला वर्षहरूमा सम्बन्ध विच्छेद गरेर बसेका थिए । विवाहित महिलामा मुटुरोग, डिप्रेसन, एक्लोपनको जोखिम कम हुने रहस्या पत्ता लाग्यो । उनीहरु बढी आशावादी हुनुका साथै आफ्नो जीवनको उद्देश्यबारे स्पष्ट हुन्छन् । यसबाट अनुसन्धानकर्ताहरू विवाह गर्दा धेरै फाइदा हुने निष्कर्षमा पुगेका छन् ।

उनीहरूले विवाहपछि सम्बन्धविच्छेद गर्ने महिलाहरूमा विवाहित महिलाहरूको तुलनामा मृत्युको जोखिम १९ प्रतिशत बढी हुने बताए । आफ्नो जीवनसाथीबाट अलग भएका महिलाहरूले सम्बन्धविच्छेदपछि अवसाद र अस्वास्थ्य भएको बताएका छन् । लेखकहरूका अनुसार पुरुषहरूमा विवाहको प्रभावबारे थप अनुसन्धान आवश्यक छ ।

तपाईको प्रतिक्रिया