आगामी बैशाख १० गते तीनवटा क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि विभिन्न पार्टीहरु उम्मेदवारको नाम टुंगो लगाउन जुटेका छन् । यसबीच, बारा क्षेत्र नं. २ बाट चुनाव लड्न राष्ट्रिय स्वतन्त्र पार्टीले अभिनेता विराज भट्टलाई प्रस्ताव राखेको थियो । तर, उनले उक्त प्रस्ताव स्वीकार नगरेपछि स्वतन्त्र पार्टीले रमेश खरेल र युवराज न्यौपानेको नाम प्रारम्भिक उम्मेदवारको सूचीमा राखेको छ ।

मधेशी समुदायको बाहुल्यता रहेको बारा क्षेत्रमा भोजपुरी फिल्मको ठूलो पकड छ । र, विराज भोजपुरी फिल्मका सुपरस्टार हुन् । यही कारण रास्वपाले उनलाई चुनाव लड्न प्रस्ताव राखेको थियो । तर, विराजले तत्काल राजनीतिमा नआउने बताएपछि पार्टीले अन्य उम्मेदवार खोजेको हो । यद्यपि, उनले आफूलाई चुनाव लड्न रास्वपाले गरेको प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् ।

हाल मुम्बईमा रहेका उनले फिल्मीखबरसँग भने, ‘हो, मलाई रास्वपाबाट चुनाव लड्नलाई प्रस्ताव आएको थियो । तर, मैले तत्काल राजनीतिमा आउने इच्छा नभएको भनेर जानकारी गराएँ । बारा भोजपुरीसँग नजिक भएकाले पनि मलाई त्यो प्रस्ताव राख्नुभएको थियो होला । म यसलाई सकारात्मक रुपमा नै लिन्छु । मलाई यति योग्य सम्झिएकोमा उक्त पार्टीलाई धन्यवाद पनि भन्न चाहन्छु ।’

अहिले आफू फिल्ममा नै व्यस्त रहेकाले राजनीतिमा आउने विषयमा केही नसोचेको भट्टको भनाई छ । ‘राजनीतिप्रति कहिल्यै रुचि पनि रहेन । भोलिका दिनमा राजनीतिमा आउनुपर्छ भन्ने भयो भने त्यसका लागि राम्रै पूर्वतयारी गर्नेछु । राजनीति गर्न चाहनेका लागि त चुनाव लड्न पार्टीले गरेको प्रस्ताव निकै राम्रो कुरा हो । तर, म चाहिँ राजनीतिमा आउन अहिले तयारै छैन,’ भट्टले भने ।

भविष्यमा राजनीतिमा आउने सम्भावना चाहिँ छ ? भन्ने फिल्मीखबरको प्रश्नमा विराजले भने, ‘अहिलेसम्म यसबारेमा केही सोचेको छैन । भविष्यमा आउँदै आउँदिनँ भनिहाल्न पनि उचित हुँदैन । तर, जसरी पनि गर्नुपर्छ भन्ने मनसाय पनि बनाएर बसेको छैन । र पनि देशको राजनीतिप्रति हाम्रो चासो चाहिँ हुनुपर्छ । नेपाली नागरिक भएको नाताले राजनीतिप्रति मेरो पनि चासो चाहिँ हुने गर्छ ।’

अभिनेता भट्टले आफू चाँडै नेपाल आएर नयाँ नेपाली फिल्मको तयारीमा जुट्ने पनि बताए । उनले ‘साङ्लो २’ निर्माण गर्न लागेको चर्चा लामो समयदेखि चलिरहेको छ । तर, अहिले नै कुन विषय र के नाममा फिल्म बनाउने भन्ने निर्क्यौल नभैसकेको अभिनेता भट्ट बताउँछन् । अहिले आफू राम्रो स्क्रिप्टको खोजीमा रहेको उनको भनाई छ । उनी पछिल्लो पटक ‘साङ्लो’मा देखिएका थिए ।

तपाईको प्रतिक्रिया