काठमाडौँ- नयाँ वर्ष २०८० को अवसर पारेर वैशाख १ गते प्रदर्शनमा आउने चार फिल्म एकापसमा भिड्दै छन्- जारी, नाइँ नभन्नू ल-६, बुलाकी र बिहे पास।
यी चार फिल्मको विधा एउटै हो। चारै फिल्म सम्बन्ध र पारिवारिक कथावस्तुमा निर्माण भएका हुन्। जनरा एउटै हुने भएपछि यसको स्वाद र मनोरञ्जन पनि एउटै हुने भैहाल्यो।
एउटै मितिमा चार फिल्म र त्यसमा पनि चारै फिल्म प्रेम र पारिवारिक सम्बन्धको कथामाथि बन्दा भिन्न जनराको पर्खाइमा रहेका दर्शकलाई विकल्प साँघुरिने देखिन्छ।
फेमिली ड्रामा नेपाली बक्स अफिसमा लाभदायक जनरा भए पनि युवापुस्ताका लागि फेमिली ड्रामा पहिलो रोजाइ नबन्न सक्छ।
विकास आचार्य निर्देशित फिल्म नाइँ नभन्नू ल- ६ मा रोनाधोना नै बढी हुन्छ।फिल्ममार्फत् रुवाएर कि हसाएर दर्शकलाई हलसम्म तान्न माहिर आचार्य यसपालि भीडभाडमा कतै हराउने हुन् कि भन्ने पनि छ। तर उनी नाइँ नभन्नू लको सिरिजलाई आजसम्म काँधमा बोकेर हिँडेका छन्।
त्यसैगरी, चार फिल्ममध्ये फिल्म जारी र बुलाकीको (भूगोल र समुदायलाई अपवाद मान्ने हो) कथावस्तुबीच धेरै समानता देखिन्छ। दुवै फिल्मको केन्द्रीय द्वन्द्व निःसन्तान पीडित शीर्ष महिला पात्रले परिवार र समाजसँग गर्नुपरेको संघर्ष नै हो।
युट्युबमा सार्वजनिक भएको ट्रेलरले पनि त्यो अवगत गराउँछ। बुलाकीको परिवेश कर्णाली हो भने जारीको परिवेश पूर्वी नेपालको लिम्बू समुदाय हो।
तर कथ्य, द्वन्द्व र मनोविज्ञानका हिसाबले यी दुवै फिल्मबीच निकट समानता छ। जसले दर्शकमा जुन भए पनि एउटा हेर्दा हुन्छ भन्ने मनोविज्ञान निर्माण हुन सक्छ।
सम्भवतः यो अन्तरविरोध पनि नेपाली फिल्ममा पहिलोपटक हुन लागिरहेको हो।
लक्ष्मण सुनारद्वारा निर्देशित फिल्म बुलाकीमा सुरक्षा पन्तको मुख्य भूमिका देख्न सकिन्छ भने उपेन्द्र सुब्बा निर्देशित जारीमा दयाहाङ राई र मिरुना मगर देख्न सकिन्छ। सुब्बा र सुनार दुवैको पहिलो निर्देशन हो।
चर्चाको हिसाबले यी दुवै फिल्म दर्शकमाझ प्रतीक्षित छन् तर एउटै मितिमा रिलिज हुँदा यसको बहुआयामिक प्रभाव नपर्ला भन्न सकिन्न।







































































