राजनीति र फिल्म क्षेत्रमा को कहिले कट्टर दुश्मन र दिलदार मित्र बन्छन् भगवानलाई पनि थाहा हुँदैन । यी दुई क्षेत्रमा देखेका सबै चिज सत्य हुँदैनन् । राजनीतिमा पानी बाराबार भएकाहरुसँग जसरी स्वार्थका लागि रातारात घाँटी जोडिन्छ, त्यसरी नै फिल्म क्षेत्रमा एकअर्कालाई सत्तोसराप गर्दै आएकाहरु एकाएक मिलनको गीत गाउन थाल्छन् । यसको गतिलो उदाहरण दीपकराज गिरी हुन् ।
उनले बोल्ने ठाउँ भेट्नु पर्छ, आफूबाहेक कसैलाई छाड्दैनन् । चाहे सार्वजनिक मञ्च होस् वा सामाजिक सञ्जाल । उनी आफूलाई मन नपरेको कुरा निर्धक्क बोल्छन्/लेख्छन् । यही स्वभावले उनलाई विवादमा समेत तान्ने गरेको छ । गत असोजमा ‘प्रेमगीत ३’को हिन्दी भाषाको विषयमा चर्किएको विवादमा दीपकराजले लेखेको स्टाटसले निर्माता सन्तोष सेनसँग उनको बानी बाराबार नै भयो ।
तर, केही महिनाअघि दीपकराज र सन्तोषबीच मिलन भयो । त्यो पनि एकअर्काको तारिफ गरेर नथाक्ने गरी । गत हप्ता चलचित्र विकास बोर्डले २०७९ सालको फिल्महरुको कमाई सार्वजनिक गरेपछि दीपकराजले अध्यक्ष भुवन केसीलाई पनि निशाना बनाए । उनले बोर्डमा भुवन केसी आएदेखि लफडा मात्र भइरहेको बताए । उनले ‘यो अध्यक्ष’ भन्दै तल्लोस्तरको शब्द समेत प्रयोग गरे ।
तर, जति नै तिखो वचन बोले पनि दीपकराज कसैसँग आमनेसामने हुन डराउँदैनन् । आइतबार उनले अध्यक्ष भुवन केसीसँग पनि संवादहीनता तोडेका छन् । चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट’मा उनले भुवनबाट सम्मान पत्र लिएका थिए । फेसबुकमा स्टाटस लेखेपश्चात् भुवनसँग उनको पहिलो भेट थियो । दुवैले एकअर्काप्रति राम्रै हार्दिकता दर्शाए ।
केही दिनअघि भुवन केसी र प्रदीप खड्काबीच पनि संवादहीनता तोडिएको थियो । ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपालमा प्रदर्शन गर्न नदिने नियत राखेको भन्दै प्रदीपले भुवनको राजीनामा समेत मागेका थिए । त्यसपछि भुवनले पनि प्रदीपलाई ‘फ्लप हिरो’ भन्दै खिसिटिउरी गरेका थिए । गत साता एउटा अवार्ड कार्यक्रममा दुवैले एकअर्कालाई अंकमाल गर्दै संवादहीनता अन्त्य गरेका हुन् ।