गत फागुनमा जेलमुक्त भएका अभिनेता पल शाहले करिब एक वर्षपछि हलमा पुगेर नेपाली फिल्म हेरेका छन् । उनले आइतबार साँझ ललितपुरस्थित लाबिम मलको क्यूएफएक्स हलमा फिल्म ‘नाईं नभन्नू ल ६’ हेरेका हुन् । उनी फिल्मकी मुख्य अभिनेत्री आँचल शर्माको निमन्त्रणामा पुगेका थिए । र, फिल्म पनि उनले आँचलसँगै बसेर हेरे । ‘आँप जोडी’ तीन वर्षपछि एकसाथ देखिएको हो ।

फिल्म हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा पलले आँचलको अभिनयको प्रशंसा गरे । फिल्ममा सबैभन्दा राम्रो आँचलको अभिनय लागेको बताउँदै उनले भने, ‘आँचलजीको काम ‘बेस्ट’ लाग्यो । अभिनय ‘स्किल’ धेरै ‘इम्प्रुभ’ भएको रहेछ । फिल्ममा राम्रो पक्ष नै उहाँको अभिनय लाग्यो ।’ उनले फिल्ममा आँचलको केमेस्ट्री आशिर्वाद क्षेत्री (नव-नायक)सँग सुहाएको पनि धारणा राखे ।

फिल्मको कतिपय सिन ‘नाईं नभन्नू ल ४’को जस्तो महसुस भएको पलले बताए । यो सिरिजसँग आफ्नो ‘इमोसन’ जोडिएको उनको भनाई छ । पलले आँचलसँग भविष्यमा फिल्ममा सहकार्य हुनसक्ने पनि बताएका छन् । उनले भने, ‘आँचलजीसँग त मेरो सबैभन्दा रुचाइएको केमेस्ट्री हो । हामी फिल्ममा एकसाथ आउने भएपछि स्क्रिप्ट पनि त बलियो नै चाहियो । एकदिन सहकार्य हुन सक्छ ।’

त्यस्तै, आँचलले आँपको सिजन आउन लागेकाले घरिघरि आउँदा मज्जा नआउने बताउँदै फिल्ममा सहकार्य हुनसक्ने संकेत गरिन् । उनले फिल्म क्षेत्रमा आफ्नो एकमात्र साथी पल रहेको बताउँदै आफ्नो फिल्मलाई सहयोग गर्न आइदिएकोमा आभार प्रकट गरिन् । पल र आँचलले दर्जनौं म्यूजिक भिडियोसँगै ‘नाईं नभन्नू ल ४’, ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ फिल्ममा सँगै अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया