काठमाडौं। गोरखा सैनिक मास्टर मित्रसेन, थापाको जीवनीमा आधारित उपन्यास“लाहुरेको रेलीमाई ” सार्वजनिक भएको छ।

साङ्ग्रीला प्रकाशनगृहद्वारा शनिवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारिका समुहका अध्यक्ष विमला तुम्खेवा, लेखक÷समिक्षक प्रकाश सायमी, सर्जक प्रा. डा. गोविन्द राज भट्टराईलगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

लेखक हितानले साङ्ग्रीला प्रकाशनगृहले प्रकाशन गरेको लाहुरेको रेलिमाई उपन्यासका लागि करिब छवर्षसम्म मास्टर मित्रसेनको जीवनीका बारेमा अध्ययन गरेर लेखेको बताएका छन्।

विमोचनमा बोल्‍दै सञ्चारिका समुहका अध्यक्ष विमला तुम्खेवाले सर्जक हितानले लेखेका यस कृति पढ्दा गोरखा लाहुरेकोे हरेक परिवारले आफ्नै अनुभवको रूपमा लिन सक्ने वातावरण तयार गर्न सफल रहेको बताइन्।

अध्यक्ष तुम्खेवाले यस्ता कृतिहरूमा घरमुली लाहुरे हुँदा वा घरवाहिर कमाउन बस्दा महिलाले निर्वाह गरेको सङ्घर्षपूण यथार्थलाई पनि विशेष स्थान दिएर बयान गर्न कन्जुसी गर्न नुहुने बताएकी छन्।

युद्ध साहित्य लेखेका प्रा.डा.भट्टराईले यस पुस्तकमा उल्लेख गरिएको गोरखा लाहुरेले प्रयोग गर्ने करिब एक हजारवटा शब्द प्रयोग भएका छन, सामान्य पाठकका लागि ति शब्दको अर्थसहित आगामी अङ्कमा पुस्तकको पछाडिपट्टि छाप्नुपर्ने सुझाव दिएका छन्। हितानले आफ्नो सैनिक जीवन सँगसँगै बहुमुखी प्रतिभाका धनी पात्र मित्रसेनको डायरी, उनका गीत, सङ्गीत, नाटकलगायतका साहित्यिक गतिविधीको अध्ययनसहित आख्यानका रूपमा ल्याएको कृति निक्कै राम्रो बनेको भन्दै प्रसंसा गरे ।

लेखक प्रकाश सायमीले जसरी गायिका नुर जहाँलाई भारत र पाकिस्तानमा गीत÷सङ्गीतको क्षेत्रमा विशेष सत्कार गरिन्छ, भने मास्टर मित्रसेन पनि नेपाल र भारत दुबै देशले उत्तिकै सम्मान पाउने र नेपालका विभिन्न भू–भागको वर्णनसहितको गीतले नेपालका भू–भागलाई नै चर्चामा ल्याउन सफल गायकको जीवनको अर्को पार्टोलाई उपन्यासको रूपमा प्रकाशित गरी नयाँ पुस्ताका लागि मास्टर मित्रसेनलाई बुझ्ने मौका प्राप्त भएको बताएका छन्।

हितानले गायकको रूपमा प्रख्यात मित्रसेनको गोरखा लाहुरे भएर पहिलो विश्वयुद्धमा सहभागिता जनाएको र लुकेको पाटोलाई पनि यस कृतिमार्फत उजागर गरेका छन्।

पूर्व गोरखा सैनिक समेत रहेका हितानको यस उपन्याससहित १२ वटा साहित्यिक कृति सार्वजनिक भइसकेको छ ।

तपाईको प्रतिक्रिया