काठमाडौं । साहित्यकार, कवी, निर्देशक तथा फोटोग्राफर प्रकाश आङदेम्बेको फोटोग्राफीहरु नर्वेमा प्रदर्शन भइरहेको छ । गुल्सेट सामुदायिक केन्द्र, सियन–नर्वेले ‘मन्थ अफ दी आर्टिस्टका’ रुपमा प्रकाश आङदेम्बेलाई मे महिनाभरीका लागि चुनेको छ । महिनाभर एउटा कलाकर्मीको रुपमा स्थान पाउने आङदेम्बे पहिलो नेपाली हुन् । जहाँ आङदेम्बेको एकल फोटोग्राफी प्रदर्शनी भइरहेको छ ।
नर्वेको दक्षिणी शहर सियनमा अवस्थित यो केन्द्र कला, साहित्य, भाषा, सँस्कृति, सृजनशिल, सामाजिक गतिविधिमा सक्रिय कम्युनकै एक केन्द्र हो । केन्द्रले संसारभरबाट आएका मानिसहरूलाई निशुल्क साँस्कृति, भाषिक, सृजनशिल, सौन्दर्यहरू आदानप्रदान गराउँदै हितैसी भावना जगाउने काम गर्नुका साथै मानिसहरूलाई निशुल्क क्षमतावृद्दी तालिम प्रदान गर्दछ । केन्द्रले आफ्नो प्रदर्शनीकक्षमा हरेक महिना एक कलाकारको सृजनालाई समावेश गर्ने गर्दछ ।

प्रदर्शनीमा उनले पोट्रेट, ल्यान्डस्केप, क्रिएटिभ, शुक्ष्म र वाइल्ड फोटोहरू समावेश गरेका छन् । जहाँ नेपालको परिचयन दिने तस्वीरहरू बढी छन् । आङदेम्बे फोटोग्राफीमा पनि अढाई दशकभन्दा लामो समयदेखि निरन्तर साधनारत छन् । हरेक प्रकारका फोटोग्राफीमा पोख्त उनी उनी आफु स्वयम चाही पोट्रेट, ल्यान्डस्केप र कलात्मक फोटोमा काम गर्न बढी पराउँछन् । जीवन र जगतको अज्ञात सौन्दर्यको खोजीको एक मार्ग फोटोग्राफी पनि हो भन्ने उनी ‘शब्दमा मात्र होइन, भाषामा मात्र होइन । फोटोमा पनि कविता भेटिन्छ ।’ भन्छन् । त्यस्तो फोटोग्राफीलाई उनी ‘पोइटिक फोटोग्राफी’ भन्न रुचाउँछन् ।

‘सियन’ नर्वेको प्राचीन र ऐतिहासिक शहर हुनका साथै विश्वप्रसिद्द कबि÷नाटककार हेनरिक इव्सेनको जन्मभूमी पनि हो । सँगसँगै बाम्ले कम्युनको ब्रातोभेतमा पनि आङदेम्बेको अर्को फोटोप्रदर्शनी चलिरहेको छ । दक्षिण नर्वेका लोकप्रिय फोटोग्राफरहरूको साझा क्लब ‘ग्रेन्डल्यान्ड फोटो क्लब’ को व्यानरमा एक दर्जन फोटोग्राफरहरूको ४५ वटा फोटोग्राफी सहभागी छन् । जहाँ आङदेम्बेको ‘प्रेमको आकास’ ‘रंगहरूको जङगल’ र ‘इश्वरको रंग’ शिर्षकका तीनवटा फोटोहरू सहभागी छन् । यो प्रदर्शनी मे पहिलो हप्तावाट शुरु भएर जुन महिनाभरी रहनेछ । नर्वेजियन फोटोग्राफर बाहेक आङदेम्बे एक मात्र सहभागी विदेशी मुलका फोटोग्राफर हुन् । नर्वे संसारभरका ल्यान्डस्केप फोटोग्राफरहरूको स्वप्नदेश हो । त्यसमाथि फोटोग्राफी विधालाई नर्वेमा कलाको उत्कृष्ठ विधाको मध्ये एक रुपमा हेर्ने गरिन्छ । आङदेम्बे भन्छन् ‘हरेक कुराको भाष्य र मुल्य निर्माण गर्न आवश्य हुनेरहेछ । भाष्य र मुल्य निर्माण गर्नलाई सँस्कार र सँस्कृति निमार्ण गुर्नपर्ने रहेछ । यहाँ मैले फोटोग्राफीको महत्व बुझ्न पाएँ, सिक्न पाएँ ।’ आङदेम्बेलाई यो अभियानमा ‘द नेसन्स फ्यालेङ्स’ नामक संस्थाले पनि साथ दिइएको छ ।

तपाईको प्रतिक्रिया