काठमाडौं। मानव बेचविखन तथा मानव तस्करीविरूद्ध छुट्टै कानुन नहुँदा यस्तो जघन्य अपराधमा संलग्न व्यक्ति , समुहलाई अपराध अनुसारको कारवाही गर्न समस्या भएको सरोकारवालाले बताएका छन।
मानव बचेविखन विरूद्ध काम गर्ने संस्थाहरूको सञ्जाल एटविनद्वारा राजधानीमा आयोजित कार्यक्रममा एटविनका कार्यकारी निर्देशक वेनुमाया गुरूङले वैदेशिक रोजगारीमा नजाउ भन्ने स्थिति छैन, तर व्यवस्थित कागजात, श्रम स्वीकृतीको आधारमा मात्र जाने अवस्थाको जानकारी नै नहुँदा थुप्रै नेपाली मानव बेचिविखन तथा मानव तस्करको फन्दामा परेर दुःख पाउने क्रम दिन–दिनै बढिरहेको बताइन ।
उनले यस विरूद्ध काम गरेको थुप्रै वर्षको अनुभवमा कानुनको अभाव, शिक्षित र सचेत नागरिक पनि प्रलोभनमा पर्ने वा वाध्यताले समेत धोका पाएको र फितलो कानुनका कारण अपराधी सधैं उम्किने वातावरण बनेको जानकारी दिइन्।
कार्यक्रममा मानव वेचविखन विरूद्धको व्युरोका प्रहरी उपरिक्षक नरहरि रेग्मीले बेरोजगारी, अनिश्चित भविष्य, महङ्गीलगायत विविध कारणले बढेको वैदेशिक रोजगारी र गरिबी, साथीको जीवनशैली हेर्दै लोभिएर आन्तरीक वेचविखन तथा मानव तस्करको फन्दामा परेर नेपालीले पाएको दुःख विरूद्ध कडा कानुनको अभाव रहेको बताए।