काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा रोमान्टिक-सोसल ड्रामा फिल्म ‘काजी’ निर्माण हुने भएको छ । आगामी सेप्टेम्बरदेखि बेलायतमा छायांकन हुने यो फिल्मको रिलिज मिति वैशाख १ गतेलाई तय गरिएको छ । फिल्म ‘गणपति’को रिलिजअघि नै निर्माताले बुधबार नयाँ फिल्मको घोषणा गरेका हुन् ।

शीर्ष अभिनेता तय भइनसकेको फिल्ममा वर्षा सिवाकोटी, विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्की कलाकारको रुपमा फाइनल भएका छन् । सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले वितरण गर्ने यो फिल्म सन् २०१२-०१३ को बेलायती परिवेशमा छायांकन गर्ने तयारी छ ।

फिल्मबारे निर्देशक रिजालले भने, ‘प्रेमकथा र सामाजिक कथावस्तुमा बन्न लागेको यो फिल्मले १० वर्षअघिको बेलायतको परिवेश र कथा भन्छ । दर्शकले रुचाउने विश्वास हामीले लिएका छौं ।’ रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् ।

यो ब्यानरबाट निर्माण भएको फिल्म ‘गणपति’ भदौ १४ गते प्रदर्शनको तयारीमा छ । यसअघि रिजाल दाजुभाइको सहकार्यमा धुवाँ यो नशा, डिसेम्बर फल्स, कायरा, कसम, वान वडे फिल्म निर्माण भइसकेका छन् । वितरक मानन्धरले चाँडै यो फिल्मलाई लिएर औपचारिक घोषणा हुने बताए । ‘गणपति’पछि मानन्धरले वितरण गर्ने फिल्म ‘क्यामिनो’ छायांकन तयारीमा छ ।

तपाईको प्रतिक्रिया