लक्ष्मण पोखरेल

काठमाडौं : प्रसिद्ध कवि तथा गीतकार सरला श्रेष्ठको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘माटोको महिमा’ एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ । नारायण आलीको संगीत, मदनकृण्ण श्रेष्ठ र अन्जु पन्तको स्वर, गोपाल रसाईलीको संगीत संयोजन रहेको उक्त गीतको लोकार्पण कार्यक्रममा अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेल, विश्व वल्लभ मन्जुल, वरिष्ठ कलाकार मदनकृण्ण श्रेष्ठ, गायिका अन्जु पन्त, गायिका जुनु श्रेष्ठ, गायक राज सिग्देल, गायिका बुनु श्रेष्ठ, साउण्ड इन्जिनियर महेश्वरमान श्रेष्ठ, मनोज चौलागाईं, नेपाल गीतकार संघका उपाध्यक्ष रमेश कोइराला, संगीतकार शंकर थापा स्माईल, वरिष्ठ गीतकार भरत बम्जनलगायतको उपस्थिति रहेको थियो ।

लामो समयदेखि नेपाली साहित्य र गीत संगीतको क्षेत्रमा कलम चलाउँदै आउएकी कवि तथा गीतकार सरला श्रेष्ठ समाजसेवामा पनि सक्रिय छिन् । लामो समयदेखि विदेश बस्दै आएकी श्रेष्ठ विदेशमा बसेर पनि नेपाली कला साहित्यमा कलम चलाउँदै नेपाली गीतसंगीत र साहित्यको श्रीवृद्धिमा निरन्तर लागिरहेकी छिन् । केही समयको नेपाल बसाइको क्रममा उनले आफना सिर्जनाहरुलाई ‘माटोको महिमा’ संग्रहमार्फत दर्शक स्रोताहरुमाझ ल्याएकी हुन् ।

लोकार्पण कार्यक्रममा गीतकार श्रेष्ठका बुवा सुर्वणजंग श्रेष्ठ र आमा तुलसीदेवी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न वक्ताहरुले गीतकार श्रेष्ठको जीवनीदेखि साहित्यक यात्रा, नेपाली सांगीतिक क्षेत्रमा उनले पुर्‍याएको योगदान र समाजसेवामा उनले गरेका कार्यहरुको चर्चा गरेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार विश्व बल्लभ, वरिष्ठ साहित्यकार मन्जुल, कलाकार मदनकृण्ण श्रेष्ठ, गायिका अन्जु पन्त, संगीतकार कृति न्यौपानेलगायतले गीतकार श्रेष्ठ र ‘माटोको महिमा’ गीतबारे चर्चापरिचर्चा गरेका थिए ।

गीतकार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली गीतसंगीत र साहित्यक व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथि र विशिष्ट व्यक्तिहरुलाई सम्झना स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । कुपन्डोलको सांग्रिला ब्लु होटलमा भएको कार्यक्रममा गीतकार श्रेष्ठका अन्य गीतहरुको पनि लोकार्पण गरिएको थियो ।

अन्जु पन्त अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘माटोको महिमा’ गीतले प्रत्येक नेपालीलाई आफ्नो माटोप्रतिको मायामा समर्पित हुन प्रेरित गर्छ । कार्यक्रममा ‘माटोको महिमा’ गीतको भिडियोलाई विषेशरुपमा प्रर्दशन गरिएको थियो । उक्त गीतको भिडियोलाई ओम प्रकाश अवस्थीले सम्पादन र निर्देशन गरेका हुन् । कार्यक्रममा विभिन्न गायक गायिकाहरुले गाएको गीतहरु पनि देखाइएको थियो ।

तपाईको प्रतिक्रिया