काठमाण्डौं
काठमाण्डौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ । हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धि ज्ञान बाड्न नाटक मञ्चन गरिएको हो ।

विद्यालयकी उप–प्राध्यापक ममता बम आफनो विद्यालयमा रहेका बालवालिका लाई रजश्वला के हो र यसका विषयमा समाजमा रहेका गलत धारणा र सामाजिक कुस्कारका विषयमा जानकारी दिनको लागी नाटकको मञ्चन गरिएको उहाँले बताउनुभयो । बालसाहित्यकार विजयराज आचार्य ज्युको कथालाई लिएर निर्माण हुन लागेको नाटकको नाट्य रुपान्तरण र निर्देशन रङ्गकर्मी पुष्पराज अवस्थीले गर्नुभएको छ भने सहायक निर्देशन भरत महर (बिटी)ले गर्नुभएको छ । नाटक हराएकी म महिनावारीको विषयवस्तुलाई लिएर निर्माण गरिएको हो । अहिलेको यो युगमा पनि कतिपय ठाउँ अथवा घरपरिवारमा महिनावारीलाई हेर्ने नजरिया पुरानै छ । कतिपय घरपरिवारमा महिला अथवा किशोरी महिनावारी भएकै कारण मानसिक यातना भोगिरहेका छन् ।

छाउगोठ बस्नुपर्ने, बन्द कोठामा बस्नुपर्ने, छोरा मान्छेको अनुहार हेर्न नमिल्ने, खानामा पनि सबै खान नमिलेर बार्नुपर्ने कथाहरु सुन्दै आईरहेका छौं । पहिलोचोटि महिनावारी हुदाँ कतिपयले केक काटिरहेको अवस्थामा कतिपय भने सामाजिक संस्कार भन्दै छोरीहरुलाई मानसिक यातना दिईरहेका छन् । महिनावारी हुदाँ खुशीले उत्सव मनाउनुपर्नेमा कतिपय छोरीहरु महिला हुनुमा नै दुखको अनुभव गर्छन् । नाटकको माध्यमबाट यी र यस्तै कुराहरुमा सुधार आउँछ कि भन्ने आशा नाटकको व्यावस्थापन पक्षले लिएको छ ।

नाटकमा आयुषा सुजी, जेनिसा आचार्य, समृद्धि पाण्डे, आरुष गौतम, आरभ पुरी, जस्टिन थापा, द्रब्यता कुशुवाह, हिमाल तामाङ, कौशल पौडेल, काब्या शर्मा लगायत अन्य कलाकारको भुमिका रहेको छ । नाटकको मञ्च व्यस्थापक आस्था कार्कीले गर्नुभएको छ । अहिलेको यो युगमा किताबसँगै अन्य ज्ञान पनि हुन जरुरी हुन्छ । लोयोला स्कुल आफ्ना विद्यार्थीहरुलाई किताबी ज्ञानको साथसाथै अन्य सिपमुलक तथा साहित्यिक ज्ञान दिन अग्रसर छ । विद्यार्थीहरुमा रङ्मञ्चको ज्ञान दिन र सामाजमा केही सन्देश दिन यो नाटक निर्माण गरेका हौं । विद्धालयमा नाटकको अलावा नृत्य, संगित, तेकवान्दो, पेन्टङ एण्ड आर्टस् लगायतका अतरिक्त कक्षाहरु पनि सञ्चालनमा छन् । फलस्वरूप हाम्रा विद्यार्थीहरु राष्ट्रिय स्तरमै राम्रो प्रगति गरिरहेको प्रिन्सिपल रमेश पनेरुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया