काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट अन्तर्गत आजका खेलमा ओमान र बहराइन विजयी भएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले सिङ्गापुरलाई र मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई हराएको हो ।

सिङ्गापुरलाई २२ रनले पराजित गरेको ओमानले लगातार दोस्रो जित निकालेको छ। यसअघि पहिलो खेलमा ओमानले मलेसियालाई पराजित गरेको थियो ।

आज टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो । जवाफमा सिङ्गापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५२ रनमात्रै बनायो ।

यस्तै, मूलपानी क्रिकेट मैदानमा बहराइनले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ ओभर एक बलमा एक सय २६ रन बनाएर आउट भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन १९ ओभर ३ बलमा एक सय ४६ रन बनाउँदै अलआउट भएको थियो । लगातार दोस्रो जित निकालेको ओमान तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल नजिक पुगेको छ ।

लगातार दुई खेलमा पराजित भएको सिङ्गापुर एक खेल अगावै सेमिफाइनल यात्राबाट बाहिरिएको छ । आजै कीर्तिपुरमा दिउँसो साढे १ बजे नेपाल र मलेसिया तथा मूलपानीमा कुवेत र यूएई खेल्दैछन् ।

तपाईको प्रतिक्रिया