अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक तहमा उचित सहभागिता नगराएको भन्दै सरोकारवालाले गुनासो गरेका छन्।
निर्वाचनमा पनि अपाङ्गता वा अल्पसंख्यक भनेर तोकिँदा अपाङ्गता भएका व्यक्तिको उपस्थिति हुन नसकेको उनीहरूले बताए। दलहरूले पनि अपाङ्गता भएका व्यक्तिको राजनीतिमा सहभागिता बढाउन ध्यान नदिएको उनीहरूको गुनासो छ।
नेत्रहिन युवा संघ नेपालको आयोजनामा पोखरामा अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता सम्बन्धित नीति संवादमा बोल्दै आफ्नो अधिकारले पाएको अवसर भन्दा पनि ‘कठै विचरा’ भनेर दिने गरेकोमा गुनासो गरे। उनीहरूले ‘अपाङ्गता भएका व्यक्तिको राजनीतिमा सहभागिता खै?’ भनेर नेताहरूलाई प्रश्न गरे।
कानून व्यवसायी विष्णु खनालले अपाङ्गता भएका व्यक्तिको अधिकारलाई मौलिक हकका रुपमा स्थापित हुन नसक्दा आफ्नो अधिकार र अवसरबाट बञ्चित हुनु परेको जिकिर गरे। यसका लागि राजनीतिक दलमै अपाङ्गता भएका व्यक्तिलाई सहभागी गराउनुपर्नेमा जोड दिए।
राष्ट्रिय अपाङ्ग महासंघका प्रवक्ता रमेश पोखरेलले राजनीतिक स्थायित्व नहुँदा एउटा सरकारले ल्याएको कार्यक्रम अर्को सरकारले कार्यान्वयन नगर्ने गरेको गुनासो गरे। जसले गर्दा अपाङ्गता भएका व्यक्ति मर्कामा परिरहेको उनको भनाइ थियो।
शिक्षक लक्ष्मण सुवेदीले सरकारी कार्यालयमा अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक ‘हेल्प डेस्क’ नहुँदा समस्या भएको बताए। उनले सराकरी कार्यालयमा ‘हेल्प डेस्क’को व्यवस्था हुनुपर्नेमा जोड दिए।
यसमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आलेले अपाङ्गता भएका व्यक्तिको सहायताका लागि सरकारी कार्यालयमा ‘हेल्प डेस्क’को स्थापनाका लागि सामाजिक विकास मन्त्रालयमा प्रयास भए पनि अहिले निरन्तरता पाउन नसकेको बताए। अपाङ्गता भएका व्यक्तिको पहुँच तथा सहभागिताका लागि प्रदेश सरकारले पहल गर्ने मन्त्री आलेले बताए।
अपाङ्गता भएका व्यक्तिहरूका माग सम्बोधन गर्न प्रयास गर्ने राजनीतिक दलका नेताहरूले बताएका छन्। गण्डकी प्रदेशका नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुसुम बुढाले अपाङ्गता भएका व्यक्तिका अधिकार कार्यान्वयनको अवस्था चुकिरहेको स्वीकार्दै सबै राजनीतिक दल गम्भीर हुनुपर्नेमा जोड दिइन्।
नेपाली कांग्रेस संसदीय दलका नेता नन्दप्रसाद न्यौपानेले अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउनका लागि लबिङ गर्दै यसबारे जनचेतना जगाउनुपर्ने बताए। नेकपा (एमाले) संसदीय दलका नेता गोविन्द नेपालीले अपाङ्गता भएका व्यक्तिका लागि समान अवसर सिर्जना गर्न आफ्नो पार्टी लाग्ने प्रतिबद्धता व्यक्ति गरे।
कार्यक्रममा कलाधर भण्डारी र निर श्रेष्ठले अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता र समावेशिताबारे अवधारणा पेश गरेका थिए।










