महोत्तरीको बर्दिवासमा पहिलो पटक सडक खाना महोत्सव हुने भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको आयोजनामा फागुन ५ देखि ७ गतेसम्म महोत्सव हुने आयोजक हुने भएको हो ।

महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मधेसको पहिचान र स्वादका खानासँगै तारे होटलमा पाउने परिकार पनि एकै ठाउँमा खुवाउने गरी महोत्सव गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज बहादुर कार्कीले बताउनुभयो ।

बर्दिवासमा जोडिएको वीपी राजमार्गको पूर्वतर्फ करीब साढे ५ सय मिटर सडकमा ५० वटा खानाका स्टल राखिने संघद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सव स्थलमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम पनि हुने भएकाले मनोरञ्जनसँगै होटलमा पाउने भन्दा २० देखि ४० प्रतिशससम्म छुटमा खाजा खाना खान पाईने संघले जनाएको छ ।

महोत्तरी बाहिरबाट स्टल राख्न आउने होटल व्यवसायीलाई स्टल फ्रि गरिएको र जिल्लाका स्थानीय व्यवासायीलाई १ हजार देखि १५ सय र २ हजार रुपैयाँसम्ममै सस्तो मूल्यमा स्टल उपलब्ध गराईने अध्यक्ष कार्कीले बताउनुभयो ।

बर्दिवासमा पहिलोपटक सडक खाना महोत्सव गर्न लागिएकाले महोत्सवबाट फाईदाको अपेक्षा नराखिएको र खर्च १५ लाख हुने अनुमान गरिएको संघका महासचिव नारायण घिमिरेले बताउनुभयो ।

जिल्लामा पाइने स्वच्छ र स्वादिष्ट खाना एकै छानामुनी खुवाउँदै पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउने महोत्वसको उद्देश्य भएको घिमिरेले जानकारी दिनुभयो ।

बर्दिवासमा भएका व्यापारिक महोत्सवको अवलोकलन धेरैले गरेका भएपनि यस्तो महोत्सव जिल्लामै पहिलो पटक लागिरहेको उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले दाबी गर्नुभयो ।

बर्दिवासका लागि नयाँ विषय भएकाले सडक खाना महोत्सव कस्तो हुन्छ भन्ने चासो सर्वसाधारण र सबै सरोकारवालाई भएकाले महोत्सव सफल हुने उहाँको विश्वास छ ।

सांस्कृतिक तथा पर्यटन प्रवर्धन गर्न बर्दिवास नगरपालिकाले छुट्याएको ६ लाख ५० हजार र अन्य रकम सहयोग लिएर १५ लाख रुपैयाँ लागतमा महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

तीन दिनसम्म चल्ने सडक खाना महोत्सवको ५० हजार मानिसले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । सोही अनुरुप प्रचारप्रसार गरिएको संघका महासचिव घिमिरेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया