अष्ट्रिया÷ अष्ट्रियामा बसोबास गर्दै आएका नेपाली युवा खेलाडी विनय कार्कीले अन्तर्राष्ट्रियस्तरका विभिन्न पदक जितेर नेपालको शान उच्च बनाएका छन् ।
विदेशमा बसेर पनि मातृभूमि नेपालको प्रतिष्ठा उच्च बनाउन सकिन्छ भन्ने उदाहरण कार्कीले प्रस्तुत गरेका छन् । उनले मार्सल आर्टस अन्तर्गत तेक्वान्दो खेलमार्फत दर्जनौं अन्तर्राष्ट्रिय पदक प्राप्त गरिसकेका छन् । चार महादेशको ३४ देशमा अष्ट्रियाका तर्फबाट सहभागिता जनाएर पदकसमेत प्राप्त गरेका छन् । उनी वल्र्ड च्याम्पियन सिप, युरोपियन च्याम्पियनसिप, नेशनल च्याम्पियनसिप जी–वान र टु इन्टरनेशनल गरी १२९ वटा विश्वका विभिन्न ठूला सहरमा प्रतिस्पर्धा गरी ७४ वटा स्वर्ण, २५ वटा कास्य, १५ वटा रजत पदक प्राप्त गरिसकेका छन् । त्यस्तै उत्कृष्ट फाइटरको ट्रफी हात पार्न सफल कार्की एनआरएनएको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा पुगेर स्वर्णसहित विभिन्न पदक जित्न सफल भएका छन् ।

नेपाली युरोपियन खेलकुद संघका सल्लाहकारसमेत रहेका बुवा विकास कार्कीको प्रेरणाले खेल क्षेत्रमा लागेको बताउने विनय सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । उनी नेपाल आउँदा गरिब तथा असहायलाई सहयोगसमेत गर्ने गरेका छन् । नेपाली समाज अष्ट्रियालाई विश्वभर चिनाउन सफल विनय आफ्नो सफलतामा बुवा र परिवारको हात रहेको बताउँछन् । विदेशमा बसोबास गर्ने नेपालीहरुका लागि विनय गौरव भएको अष्ट्रियामा विगत साढे दुई दशकदेखि पर्यटन व्यवसाय गर्दै आएका नेपाली युरोपियन खेलकुद संघका अध्यक्ष दिलकुमार घमालको भनाइ छ ।

तपाईको प्रतिक्रिया