झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बल,नेपालका नायव उपरीक्षक (डिएसपी) उपेन्द्र बस्यालको साथबाट ‘सुसाइड नोट’ भेटिएको छ । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख उनले लेखेको ‘सुसाइड नोट’ फेला परेको हो । नोटमा उनले आफूले राजीखुशी प्राण त्याग्ने निर्णय गरेको बताएका छन् । आफ्नो काम सही र दुरुस्तपूर्वक गर्न नसकेको उल्लेख गर्दै उनले अन्जानमा संगठनमाथि आँच आउने कार्य भएको गुनासो गरेका छन् ।

लेखेका छन्,‘फागुन २१ गते म उपेन्द्र बस्याल होसहवासमा आफ्नो प्राण त्याग गर्दैछु । कारण म मेरो कार्यक्षेत्रमा सही दुरुस्त हुन सकिन । आफू आफैंले कुनै काम गरी देखाउने चक्करमा म आफैंले सही छु । समय नै दिनुपर्नेमा आफैंले केही गर्न सकिन्छ कि भनेर त्यो नक्कलीलाई फकाउँदाफकाउँदै ऊ आफैं अपराधी रहेछ । पहिले म त त्यसलाई सम्बन्धित स्थानमा पुर्याउने काम गर्छु भनेकोले त्यसले अपराधी भै मलाई स्वयं कानुनी अप्ठेरोमा पार्ने खतरा पो भयो ।’

आफ्नो क्रियाकलापले संगठनमाथि आँच आएकाले बाँच्नुको अर्थ नभएको उनले उल्लेख गरेका छन् । उनले भनेका छन्,‘म अन्जानमा बदनियतपूर्वक यस पवित्र संगठनलाई आँच आउन दिन खोजेको होइन । तर,म अहिलेसम्म कुनै पनि अपराधिक क्रियाकलापमा नपरेको हुँदा संगठनलाई आँच आउने कुरा भयो भने त बाँच्नुको अर्थ छैन । सरी चिफ साब,सरी फ्रेण्डस् ।’

साथै,उनले श्रीमतीसँग माफी पनि मागेका छन् । जीवनमा खुशी दिन नसकेको दुःखेसो पोख्दै छोराको ख्याल राख्न भनेका छन् । त्यस्तै, उनले सुरेन्द्र केसीको नाम पनि ‘सुसाइड नोट’ मा लेखेका छन् । केसीले आफ्नो बारेमा टिप्पणी गरे पनि त्यसबारे सत्यतथ्य बुझ्न आग्रह गरेका छन् ।

उनले लेखेको नोटमा आफ्नो परिवारलाई कान्छी अर्थात लक्ष्मीलाई कुनै दोष नदिन र अर्को विवाह नगर्न आग्रह गरिएको छ । आमाबुवा, श्रीमतीलाई अमेरिकामा सेटल गराइदिन र आफ्नो छोराको जिम्मा लिन भनी उनले दाइसमक्ष बिन्ती बिसाएका छन् ।

पार्थिव शरीर पाल्पाको राम्दीस्थित हजुरआमा जलाएको ठाउँमा पठाइदिन र छानबिनका नाममा सहकर्मीहरुलाई दुःख नदिन नोटमा अनुरोध गरिएको छ । ४२ वर्षीय बस्याल गत सोमबार कार्यालय परिसरको स्टोर कोठाको सिलिङ्गमा झुण्डिएको अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय,मोरङका अनुसार उनको शव हिजो पोस्टमार्टम गरिएको छ ।

तपाईको प्रतिक्रिया