पुष्पराज थपलिया
विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम र आर्मी विजयी भएका छन् ।

मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शुक्रबार भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले विभागिय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ । जितसँगै सुदुरपश्चिम ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकको साथ दोस्रो स्थानमा उक्लिएको छ ।

टस जितेर ब्याटिङ गरेको सुदुरले नारायण जोशीको विस्फोटन ब्याटिङले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८३ रनको विशाल स्कोर खडा गरेको थियो । सुदुपश्चिमका लागि अविशेक पालले ३९ बलमा २ छक्का र ७ चौका प्रहार गरि ५८ रन बनाउँदा प्लेयर अफ द म्याच नारायण जोशीले विस्फोटन ब्याटिङ गर्दै १२ बलमा ६ छक्का प्रहार गरि ४० रन, किरण ठगुन्नाले ३० रनको योगदान दिए । पुलिसका शरद भेश्वाकरले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिदाँ मन्जित श्रेष्ठले २ विकेट लिए ।

जवाफमा १ सय ८४ रनको विशाल लक्ष्य पाएको पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाई १ सय ३१ रन मात्र बनाउँन सक्यो । पुलिसका शंकर राना एक्लैले नटआउट ९१ रन बानाए । रानाले ६२ बलमा ५ छक्का र ९ चौका प्रहार गरेका थिए । त्यस्तै अविशेक कार्कीले २० बनाए । सुदुरपश्चिमका दिपक चन्दले २ विकेट लिँदा शेर मल्ललेपनि २ विकेट, र नारायण जोशीले १ विकेट लिए ।

दोस्रो खेलमा विभागिय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई ८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ४० रनको योगफल तयार पारेको थियो । आर्मीका प्लेयर अफ द म्याच वसिर अहमदले ३८ बलमा २ छक्का र २ चौका प्रहार गरि ४२ रन बनाउँदा सन्दिप रजालीले नटआउट ४१ रन र सन्तोष कार्कीले ३४ रनको योगदान दिए । कर्णलीका प्रकाश जैशीले २ विकेट लिँदा दिनेश अधिकारी र दिपेन्द्र रावतले १–१ विकेट लिए ।

जवाफमा १ सय ४१ को लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाई १ सय ३२ रन मात्र जोड्न सक्यो । कर्णालीलागि दिपेन्द्र रावतले नटआउट ४७ रन बनाउँदा रविन्द्र शाहीले २२ रन र विपिन रावतले १८ रनको योगदान दिए । आर्मीका नितेश पटेलले २ विकेट लिँदा तिर्थराज दास, पवन कार्की, शहाव अलाम वसिर अहमदले १–१ विकेट लिए ।
शनिबारको पहिलो खेल कर्णाली र एपिएफ र तथा दोस्रो खेल वागमती र लुम्बिनीविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया