काठमाण्डौं ।

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक (बडिगार्ड) पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–३ घर भएका दिपक खड्का बन्दुकसहित सर्वोच्च अदालत छिर्न खोजेपछि पक्राउ परेको बताइएको छ ।

उनी लामो समयदेखि व्यवसायी प्रसाईंको नीजि अंगरक्षकको रुपमा कार्यरत छन् । उनको साथबाट प्रहरीले एउटा बन्दुक बरामद गरेको छ ।

आफ्नो मेडिकल कलेजको सम्बन्धनसम्बन्धी मुद्दामा भइरहेको बहस सुन्न प्रसाईं खड्कासहित त्यहाँ पुगेका हुन् ।

सेतो गाडीमा सर्वोच्च छिरेका प्रसाईंका खड्कासहितका अंगरक्षकहरुले कालो झोलामा हतियार राखेर लगेको पाइएको हो । प्रहरीका अनुसार स्वेडेन लेखिएको कालो झोलामा अर्मेरिया परिनी एसआरएल इटाली, मेड इन जर्मन–जीएसजी ५ लेखिएको अटोमेटिक पेस्तोल १ थान फेला परेको छ ।

पेस्तोलमा प्रयोग हुने म्याग्जिन सानो २, ठूलो २, म्याग्जिन होल्डर १, गोली १०० राउण्ड, मोबाइल थान २ पनि प्रहरीले बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया