भिजिट भिसामा ओमन पुर्याएर महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पाल्पाको तिनाउ गाउँपालिका–५ घर भएका र हाल काठमाडौंको तारेकेश्वर बस्दै आएका ४० वर्षीय आकाश राना भन्ने विष्णुबहादुर राना समातिएका हुन् ।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले उनलाई नियन्त्रणमा लिएको छ । ब्युरोका अनुसार उनले पीडितलाई ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाइदिने प्रलोभनमा गत भदौ २६ गते काठमाडौंबाट भिजिट भिसामा त्यहाँ पुर्याएका थिए ।

राजधानी मस्कटमा लगेर पीडितको मोबाइल र पासपोर्ट खोसेपछि आफ्ना साथीहरुको एजेन्ट अफिसमा राखेर ग्राहक बोलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइएको थियो । साथै उनलाई शारीरिक तथा मानसिक यातना समेत दिएको पाइएको ब्युरोले जनाएको छ ।

पीडितलाई ३५ दिनसम्म कोठामै बन्धक बनाएको, जबरजस्ती वेश्यावृत्तिमा लगाएको र प्रतिवाद गरेको समयमा कुटपिट गरिएको थियो । त्यस्तै खाना र पानी नदिने र एसी अधिक चिसो तथा अधिक तातो बनाएर शारीरिक यातना समेत दिइएको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।

पीडितले नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरुले उल्टै रकम मागेका थिए । त्यसपछि श्रीमानको पहलमा साढे दुई लाख रुपैयाँ तिरेपछि गत कात्तिक २ गते उनी फर्कन सफल भएकी थिइन् ।

ब्यूरोले रानालाई शुक्रबार बालाजु एरियाबाट नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया