योग गुरुको रुपमा चर्चित बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले भ्रामक विज्ञापन गरेको विषयमा माफी मागेका छन् । आज नयाँ दिल्लीस्थित सर्वोच्च अदालतमा उभ्याइएका उनीहरुले इजलासमै माफी मागेका हुन् ।

रामदेव पतञ्जलीका संस्थापक हुन् भने आचार्य बालकृष्ण अहिले कम्पनीको म्यानेजिङ डाइरेक्टर र सिइओ छन् । कोराना महामारीका बेला पतञ्जलीले आफ्नो आयुर्वेदिक औषधीको प्रयोगले मात्रै कोभिड संक्रमणबाट बच्न सकिने भन्दै भ्यासिनेशन र एलोप्याथीविरुद्ध गलत प्रचार गरेको थियो ।

त्यसविरुद्ध सन् २०२२ अगस्ट १७ मा इन्डियन मेडिकल एसोसियशनले पतञ्जलीविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटउपर बहसको लागि गत महिना पेशी तोकिएमा पतञ्जलीका संस्थापक रामदेवलाई इजलासमा अनिवार्य उपस्थित हुन अदालतले आदेश दिएको थियो । तर, अदालतको आदेश अटेर गर्दै उनले आफ्ना वकिल बलिविर सिंहलाई बहसमा पठाएका थिए ।

सर्वोच्चले वकिल सिंहमार्फत् रामदेवलाई अन्तिम पत्र पठाउदै अप्रिल २ (आज)को मिति तोकेर अदालतमा उपस्थित नभए कम्पनीमाथि नै कारवाही हुने चेतावनी दिएपछि आज आचार्य बालकृष्णसँगै उनी अदालतमा उपस्थित भए ।

न्यायाधिशद्वय हिमा कोहली र अमान तुल्लाहको संयुक्त इजलासले रामदेवलाई विभिन्न प्रश्नहरु गर्दै इजलासमा र्याखर्याख्ती पारेको थियो । ‘सर्वोच्च अदालतको मात्र होइन, देशको जुनसुकै अदालतको आदेश तपाईले मान्नुपर्छ । तर तपाईले त अदालतको आदेश नै उल्लंघन गरेर सीमा नाघिसक्नुभयो’, इजलासमा न्यायाधीशले चेतावनीको भाषामा सम्झाएका थिए ।

गत महिना सर्वोच्चले अनिवार्य उपस्थित हुन आदेश जारी गरेपछि रामदेवले अटेरी गर्दै उल्टै अदालतका न्यायाधिशविरुद्ध धावा बोलेका थिए । सोही प्रंसगमा संयुक्त इजलाशले थप भनेको छ, ‘अबको ७ दिनभित्र चित्त बुझ्दो जवाफ दिनुभएन भने हामीविरुद्ध झूठो बयानबावी गरेको केसमा हामी नै तपाईलाई हिरासतमा राख्न आदेश दिनेछौ । भ्रम फैलाउनुको पनि हद् हुन्छ, तपाईले हद नाघिसक्नु भयो ।’

जवाफमा रामदेवले माफी मागेको र सर्वोच्चले सुनाउने फैसला आफूलाई मान्न हुने बताएको दैनिक भाष्करले उल्लेख गरेको छ ।

मुद्धाको अन्तिम सुनुवाई आगामी १० अप्रिलमा हुनेगरी तोकिएको छ ।

तपाईको प्रतिक्रिया