वीरगन्ज : बारामा श्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका-१ बनकटवाका ३४ वर्षीय हरिकिशोर पटेल र बाराको महागढीमाई नगरपालिका-१ का ४२ वर्षीय रमेश कुशवाहा रहेका छन् ।

उनीहरुको साथबाट श्रोत खुल्न नसकेको नेपाली नगद १३ लाख ५० हजार रुपैयाँ बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार, सोमबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोली भारतीय सीमासँग जोडिएको बाराको विश्रामपुर गाँउपालिका-४ मुसहर्वामा पुगेको थियो । उक्त प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका प्रदेश २–०३–०१६प२३३७ नम्बरको मोटरसाइकलमा सवार पटेललाई रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा उनको साथबाट नेपाली १३ लाख ५० हजार रुपैयाँ बरामद भएको र उक्त रकमको श्रोत खुलाउन नसकेकाले पटेललाई प्रहरीले उक्त रकमसहित नियन्त्रणमा लिएको थियो। उनले दिएको बयानका आधारमा यसमा संलग्न कुशवाहालाई पनि सोमबार नै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरक्षीक न्यौपानेले जानकारी दिए ।

पटेलको साथबाट बरामद रकम हुण्डीको कारोबारका लागि ल्याइएको भन्दै प्रहरीले पक्राउ परेका पटेल र कुशवाहा दुवै हुण्डीको कारोबारी भएको प्रहरी नायब उपरीक्षक न्यौपानले बताए । रकमसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको न्यौपानेले जानकारी दिए।

तपाईको प्रतिक्रिया