काठमाण्डौ – नेपाल प्रहरीले चालु आर्थिक वर्षको आठ महिनामा देशका विभिन्न ठाउँमा जुवातास खेल्ने एक हजार आठ सय १७ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म देशका विभिन्न भागमा जुवातास खेल्ने पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाण्डाै उपत्यकाबाट सात सय ७९, कोशी प्रदेशबाट एक सय १५, बाग्मती प्रदेशबाट एक सय १३, गण्डकी प्रदेशबाट दुई सय ९९, लुम्बिनी प्रदेशबाट ९४, कर्णाली प्रदेशबाट एक सय ४ र सुदूरपश्चिम प्रदेशबाट तीन सय १३ जना रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट दुई करोड ६३ लाख ४५ हजार चार सय रुपैयाँ बरामद गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । मुलुकी अपराध संहिता २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफाअन्तर्गत पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना गर्ने कानुनी व्यवस्था रहेको छ ।

यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था रहेको छ ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी प्रावधान छ ।

तपाईको प्रतिक्रिया