संवाद र ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘डिग्री माइला’ चैत्र ३० गतेबाट रिलिज हुँदैछ । अब, यो फिल्मलाई नेपालसँगै अमेरिका र अष्ट्रेलियामा पनि चैत्र ३० मै रिलिज गर्ने तयारी गरिएको छ ।

अहिले विश्व बजारमा एकसाथ फिल्म रिलिज नगर्दा समस्या पर्ने गरेको छ । जसकाकारण, ओभरसिजमा आक्रामक व्यापार गर्ने देशमा वितरकहरूले नेपालसँगै रिलिज गर्न थालेका हुन् ।

यो फिल्मलाई सेभेन सिज इन्टरटेन्मेन्टले रिलिज गर्दैछ । निर्माणपक्षले दिएको जानकारी अनुसार, अष्ट्रेलीयाका प्रमुख शहरहरु सिड्नी, ब्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेलवर्न, पर्थ तथा लउनसेस्टनमा फिल्म चैत्र ३० गतेबाट रिलिज गर्न लागिएको हो । यसैगरी, अमेरिकाका ४० भन्दा बढी शहरमा फिल्म रिलिज गर्न लागिएको छ । अमेरिकामा यो फिल्मको ४ सय शोहरु हुने वितरकले जानकारी दिएका छन् ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मले डिग्री पास गरेर पनि बेरोजगार रहेको एक युवाको कथा भन्छ । विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता क्रिस लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठ र राइली एस शिनको छायांकन छ ।

तपाईको प्रतिक्रिया