विराटगर — बलिउडका ‘मादल उस्ताद’ वरिष्ठ संगीतज्ञ रन्जित गजमेरको सम्मानमा अमेरिकी भुटानी नागरिकहरुले रन्जित गजमेर उत्सव आयोजना गर्दैछन् ।

नेपाली संगीत जगतका लिजेन्ड्री गजमेरको सम्मानमा ‘जिन्दगी दर्पण छायाँ’ नामक उत्सव असार ८ मा आयोजना गर्न लागिएको हो । मेनुका मेमोरियल फाउन्डेशन, नक्षत्र फाउण्न्डेसन र भुटनिज नेपाली कलाकारहरुको संयुक्त आयोजनामा अमेरिकास्थित सिनसिनाटी सहरमा उत्सव आयोजना गर्न लागिएको मेनुका फाउन्डेसनमा आबद्ध गायक/कलाकार किशोर शिवाकोटीले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाएका छन् ।

सन् १९८१ मा ‘बाँसुरी’ नामक नेपाली चलचित्रबाट संगीतकारको रुपमा उदाएका गजमेरले ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘बासुदेव’, ‘साइनो’, ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आासु’, ‘कोसेली’, ‘दर्पण छाया’ जस्ता लोकप्रिय चलचित्रमा संगीत भरेका छन् ।

भारतको दार्जिलिङबाट सन् १९६७ मा पहिलो पटक काठमाडौं आएका गजमेरले रेडियो नेपालमा पहिलो पटक एउटा गीतमा संगीत भरेका थिए । संगीत क्षेत्रमा संघर्ष गर्न काठमाडौंबाट सोझै बम्बई हानिएका उनले राहुल देव (आरडी) बर्मनसँग सहकार्य गरेका थिए । गजमेरले भरेको मादलको धुन धेरै बलिउड सिनेमामा सुन्न पाइन्छ ।

उत्सवमा गजमेरले संगीत भरेका गीतलाई अमेरिकी भुटनिज सर्जकहरु किशोर शिवाकोटी, रविन शर्मा, किरण गजमेरलगायतले प्रस्तुति दिने छन् । सोही उत्सवमा उनलाई पुनर्वास भई अमेरिका पुगेका नेपालीभाषी भुटानी समुदायबाट सामूहिक अभिनन्दनसमेत गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया