नयाँ वर्षको अवसरमा पर्साको वीरगञ्जमा ‘रात्रि बजार’ आयोजना गरिने भएको छ।
वीरगञ्ज महानगरपालिका, ग्रीन सिटी, नेपाली युवा उद्यमी मञ्च, वीरगञ्ज, साईकिलिङ क्लब, वमेन्स् क्रिएशन, घरेलु तथा साना उद्योग र एड्स बी मिडिया प्रालिको संयुक्त आयोजनामा तीन दिने रात्रि बजार सञ्चालन गर्न लागिएको हो ।
चैत २९ गतेदेखि वैशाख १ गते मध्यरातसम्म सञ्चालन हुने रात्रि बजारमा विभिन्न प्रकारका खाना र ड्रिङ्स, फेन्सी लुगा, जुत्ता, चप्पल, चश्मालगायत अन्य घरायसी सामान, हस्तकला र घरेलु उत्पादनहरु, ट्याटु र मेहेन्दी, फुट मसाज, फोटोग्राफी र सेल्फीको स्टल रहने महानगरले जनाएको छ ।
महानगरका अनुसार आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म रात्रि बजार सञ्चालन हुनेछ । एक हजार रुपैयाँ तिरेर तीन दिनका लागि स्टल बुक गर्न सकिने जानकारी दिइएको छ । हाल धमाधम सजावटदेखि लिएर स्टल बुकिङ्गलगायतका काम भइरहेको छ ।
महानगरले नयाँ वर्षको अवसरमा अघिल्लो वर्ष पनि रात्रि बजार सञ्चालन गरेको थियो ।