काभ्रे, २ बैशाख । काभ्रेको रोशीमा बुद्धचित्तको रुख काटेको अभियोगमा फेरि एक जनालाई पक्राउ गरेको छ । काठमाडौको बनस्थलीबाट प्रभात तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौंबाट पक्राउ परेका प्रभातलाई राति नै प्रहरीले काभ्रे ल्याई सोधपुछ थालेको बताइन्छ । यस अघि सोही अपराध गरेकाे अभियोगमा मानबहादुर तामाङ भन्ने सिजनलाई प्रहरीले पक्राउ गरेको थियो । दुबै जनालाई आज म्याद थप गरी अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

२०८० चैत २९ गते राति १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बुद्धचित्तको रुख काट्ने अपराध गरेका थिए । साथै, उक्त आपराधिक समूहले बुद्धचित्तको मालिककाे घरमा चार वटा सकेट बम राखेको थियो । उक्त बमलाई नेपाली सेनाको कालीजंग गण धुलिखेलले निष्क्रिय पारेको थियो ।

बिस्फोटक पदार्थ सहित गएका १५/२० जनाको समूहले रोशी गाउँपालिका ५ नागबेली निवासी ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बुद्धचित्तको रुख काटेको थियो । फूल फुल्दै गरेको बुद्धचित्तको रुख काटिएको प्रहरीले जनाएको छ । उक्त रुख यो वर्ष ३ करोडमा विक्री गरिएको थियो ।

तपाईको प्रतिक्रिया