विराटनगर ÷ विराटनगर महानगरपालिकाले लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
महानगरले विराटनगर वडा नम्बर ८ सुकुम्बासी बस्तीमा उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा मंगलबार परिवार संवाद कार्यक्रम सुरु गरेको छ । सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले साझा सवालका लागि साझा मञ्च (कोकन)सँगको सहकार्यमा परिवार संवाद सञ्चालन गरेको हो । यसरी परिवार संवाद आयोजना गर्दा श्रीमान–श्रीमतीबीचको सम्बन्ध सुमधुर भई परिवारमा शान्ति छाउने उपमेयर कार्कीको भनाइ छ । पछिल्लो समय सामान्य विषयलाई लिएर पनि सम्बन्धविच्छेदका घटना बढ्दै जानुका साथै परिवारमा हिंसासमेत हुने गरेको पाइएको छ । यस्ता कार्यक्रमले लैंगिक हिंसा न्यूनीकरण हुनुका साथै परिवारमा हुने बेमेलसमेत कम हुने उपमेयर कार्कीको भनाइ छ । उपमेयर कार्कीले परिवार संवादलाई अझै व्यापक बनाउने लगिने बताउनुभयो ।
श्रीमान र श्रीमतीलाई बेग्लाबेग्लै राखेर सम्झाउनुका साथै दुवैजनाको दायित्वका विषयमा समेत जानकारी गराउने गरेको कोकनकी अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनपछि परिवारमा सुमधुर सम्बन्ध भई सम्बन्धविच्छेदमा कमी आउने, एकअर्काको भावना बुझ्ने, मदिरा सेवन गर्ने क्रममा कमी आउने, दुव्र्यसनीमा नफस्ने, आर्थिक बोझ कम हुने र लैंगिक विभेद न्यूनीकरण हुने उहाँको भनाइ थियो ।
आर्थिक अभाव, वैदेशिक रोजगारी, मदिरा सेवनलगायतका कारणले परिवारमा समस्या देखिने गरेको कोकनका सल्लाहकार अधिवक्ता कोषराज न्यौपानेले बताउनुभयो । यस्ता कार्यक्रमले श्रीमान–श्रीमती मात्रै नभएर परिवारबीचको सम्बन्ध सुमधुर भई सुखी र खुसी पारिवारिक जीवन व्यतीत गर्न सहयोग पुग्ने न्यौपानेले दाबी गर्नुभयो । वडाध्यक्ष राम पोखरेलले कार्यक्रम सञ्चालनपछि वडामा पारिवारिक विवाद कम हुने विश्वास व्यक्त गर्नुभयो ।
विराटनगर वडा नम्बर ८ मा ३५ जोडीलाई बेग्लाबेग्लै राखेर १० पटक कार्यक्रम सञ्चालन हुने कोकन मोरङका फिल्ड सुपरभाइजर अशोक थापा मगरले जानकारी दिनुभयो । त्यसपछि ३५ जोडीमध्येबाटै श्रीमान–श्रीमती दुवैजनासहित परिवारका अन्य दुई सदस्यलाई राखेर दुई चरणमा परिवार संवाद कार्यक्रम पनि सञ्चालन गरिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया