काठमाडौं । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व, देशभर मनाइन्छ । ज्योतिष शास्त्र अनुसार सौर तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ ।
सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेतापनि सूर्यको कर्कट राशी (साउने संक्रान्ति) र मकर राशी (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । आजको दिनदेखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।
साउने संक्रान्तिका दिनदेखि हिन्दु धर्म सम्बन्धित परम्पराका चाडहरू भित्रिने भनाई छ । हिन्दु धर्मालम्बीहरूले स्नान, दान, होम, श्राद्धजस्ता धार्मिक कार्यको सुरूवात साउने संक्रान्तिबाट नै हुने गर्छ ।
कृषि प्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घर परिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ ।
साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास गरिन्छ ।
कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीय वनस्पतिहरु बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ ।
साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन् । महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको ब्रत बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ । तर, यो मान्यता आदिवासी समुदायमा त्यति पाइँदैन ।
साउने संक्रान्ति किराँती समुदायकाबीच ‘सिसेक्पा तङ्नाम’को नामले मनाउने गरिन्छ । किराँतीहरूले आफ्नो इष्ट देवको सम्मानमा साउने संक्रान्तिको दिन नयाँ पाकेका फलफूलहरू चढाउन डोरीमा तुनेर ढोकामाथि झूण्ड्याउने परम्परा रही आएको छ ।
पश्चिम कर्णालीको हुम्ला जुम्लातिरका आइडी जातिहरूले साउने संक्रान्ति पर्वलाई बलिरहेको अगुल्टोलाई दक्षिणतिर फ्याँकेर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरिका नराम्रा रोगव्याधहरू सबै हट जाऊ, दुर्भाग्यको प्रतिक रातो गोरु निस्किजा, शुभ लक्षण वा सौभाग्यको प्रतीक सेतो गोरू भित्र आऊ, अनिकाल जा सहकाल आइज भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने संक्रान्ति मान्ने गर्दछन् ।
पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने संक्रान्ति पर्वलाई केवल त्यही ‘लुतो’ फाल्ने चाडको रूपमा मात्र मान्दैनन् । किराँत समुदायमा ‘काण्डरक’ नामक राक्षसभन्दा फरक प्रसङ्गमा ‘माङहाङ’ नामक एक पूर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवी प्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक काहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ । यसर्थ, यो चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ ।
नेपालको पूर्वीक्षेत्र लिम्बुवान, खम्बुवानतिर साउने संक्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको वन जंगलतिर गई साउने संक्रान्तिका लागि आवश्यक अन्न, फल, फूल, र पात (च्योङ) हरू सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मूलढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलन रहेको छ ।
सबै परिवार मिलेर सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खाना खाएर रमाइलो गर्छन् । साउने संक्रान्तिको दिन साँझपख गाउँघरमा मिठो मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्काइन्छ । थाल, झयाम्टा, नाङ्लो र ढोलहरू बजाइन्छ ।
प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा युवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घरवरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गर्छन् । यसरी, खराब कुरालाई खेदाइरहेको बेला कुनै भूभप्रेत वा भौतिक शत्रु, चोर, डाका आदिलाई खेदाइएका हुँदैनन् ।
किसानका छोराछोरीहरूले आफ्नै मातृभाषामा ‘संक्रान्ति जाऊ, मंग्रान्ति आऊ अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा ‘अनिकाल वा दुःख पीडा’लाई पर्वको रूपमा मनाउँदै खेदाएर रमाउने गर्छन् ।
यसैगरी, उनीहरूले घर परिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक साँस्कृतिक विकृति विसंगति र सिङ्गो राष्ट्रमा व्याप्त राजनैतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरू पनि प्रकट गर्दै संक्रान्तिसँगै खेदाउन घरमुलीहरूले आग्रह गर्छन् ।
मगरहरूले साउने संक्रान्ति र माघे संक्रान्तिलाई महान पर्वको रूपमा मनाउने गर्दछन् । साउने संक्रान्तिलाई ‘हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छु भनी मनाउँछन् भने माघे संक्रान्तिलाई वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छु’ भनी मनाउने गर्दछन् । अथात् माघे संक्रान्ति मरिन्छ कि भनेर मनाउने हो भने साउने संक्रान्ति लौ बाँचियो भनेर मनाउने हो ।
थकाली आदिवासी जनजातिको परम्परागत धर्म संगठन मुखिया प्रणाली हो । यो सामाजिक संस्थाले पनि साउने संक्रान्तिको दिनमा एक दिन त्यो समुदायलाई चाड मान्ने र जूवातास खेल्नसमेत छुट दिने गरेको छ । तर, अरु दिनमा पनि जूवातास खेलिएमा त्यही संस्थाले नै दण्ड वा जरिवाना गर्ने चलनसमेत रहेको छ ।
त्यसैगरी, तमु गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार आदि जातिले पनि आफ्नै तरिकाले साउने संक्रान्ति मनाउने गर्दछन् । पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन् ।