विराटनगर । काशी प्रदेश सरकारले प्रदेश प्रज्ञाप्रतिष्ठान ऐन संशोधन गर्ने भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका सबै भाषा संस्कार संस्कृतिको संरक्षणकोलागि प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन संशोधन गरेर कार्यान्वयनमा लग्ने बताएका हुन् ।
विराट मैथिली साहित्य परिषद्लगायत ११ संस्थाद्वारा शनिवार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले जातजातिका भाषा, संस्कृतिको एवं सम्पदाको संरक्षण एवं विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘प्रदेशले विगतमा ल्याएको प्रज्ञा प्रतिष्ठान ऐनमा रहेको त्रुटिलाई संशोधन गरी संसद्मा पेस गर्ने र यसैको माध्यमबाट सबै भाषा, संस्कृतिको संरक्षण हुनेछ’ उनले भने, ‘प्रतिष्ठानका लागि नीति, कानुन र बजेटको व्यवस्था हुनेछ ।’
मुख्यमन्त्री कार्कीले प्रदेशमा भाषा आयोगले दिएको सिफारिस अनुसार भाषाको सम्मान गर्ने र विभिन्न भाषालाई प्रदेशको कामकाजको भाषाको रूपमा लागु गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कानुन बनाएर अघि बढ्ने बताए ।
सम्भावना बोकेको विराटनगर विभिन्न कारणले विकासमा पछाडि परेकोले चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महानगरका साथै यहाँ बसोबास गर्ने विभिन्न भाषा भाषीको समग्र विकासका लागि इमान्दार प्रयत्न गर्ने प्रतिबद्धता जनाए । उनले मुलुकमा बसोबास गर्ने विविध जातजातिबिचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न सकिने बताएका छन् ।
कार्यक्रममा साहित्यकार प्रा.डा. राजेन्द्र विमल तथा कथाकार रामनारायण सुधाकरलाई सम्मान गरिएको छ। सम्मानित प्रा.डा. विमलले सबैले सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकता कायम गर्नुपर्ने सुझाव दिए । कार्यक्रमका संयोजक रामरिझन यादवले भाषा आयोगले दिएको सुझाव प्रदेशमा कार्यान्वयन गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया