नहुनेलाई दुःख लुकाउने बेला हो यो दशैं
हुनेलाई खुशी लुटाउने बेला हो यो दशैं
मानौं मनाऔं, हाँसी खुशी? दुःख पीडा भुली
आँसु लुकाई मन बुझाउने बेला हो यो दशैं ।
भ्रष्ट लाचारहरू देश बनाउँछु भनी कुर्लिन्छन्
राष्ट्रियता बेच्नेहरू मैले बना’को भनी डुक्रिन्छन्
नेताभन्दा जनता खराब, छान्छन् सधैं चोर डाँका,
माटो बेचेर कुर्सी किन्ने नै देख्छु सधैं उफ्रिन्छन् ।
न दुःखमा न सुखमा हुन्छ भगवान्, मात्रै कामना हो
मान्दा पनि नमान्दा पनि हुने, यो त मनको चाहना हो ।
पुजेर, ढोगेर मूर्तिलाई, कहाँ धर्म अनि कर्म मिल्छ र ?
नहुनेले माग्ने अनि हुने खानेले देखाउने प्रार्थना हो ।
जो मान्छे आँखाबाट झर्छ, कसैले उठाउन सक्दैन
जे भाग्यमा लेखिएको छ, कसैले मेटाउन सक्दैन
कोही देउता त कोही राक्षस बन्छ मान्छे मान्छे नै
कसैले चाहँदैमा आकाश धर्ती एक बनाउन सक्दैन