काठमाडौं, १४ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका–२ घर भएका ३६ वर्षीय एलिया तामाङ र काठमाडौं महानगरपालिका–१६ बस्ने दोलखा बैतेश्वर गाउँपालिका–६ घर भएका ४० वर्षीय कृष्ण कुमार घिमिरे रहेका छन् ।
एलियाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र कृष्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले एलियालाई काठमाडौं महानगरपालिका–१ बाट र कृष्णलाई काठमाडौं महानगरपालिका२६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।