नेपाली फिल्मप्रेमीहरूबीच बहुप्रतीक्षित मानिएको चलचित्र ‘माइतीघर’ अहिले छायांकनको अन्तिम चरणमा पुगेको छ। शुभसाइत पूजासँगै सुरू गरिएको छायांकनको क्रममा अहिले फिल्मको सेटबाट प्रमुख कलाकार धीरज मगर र हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ का लुक्स सार्वजनिक भएका छन्।
सार्वजनिक तस्बिरमा धीरज मगर मोटरसाइकलमा अगाडि छन्, र उनको अनुहारमा देखिएको क्रोध र आक्रोशले कथाको तनावपूर्ण मोड संकेत गर्छ। उनको पछाडि अत्तालिएका माग्ने बुढा बसेका छन्, जसले दृश्यमा थप रोचकता ल्याएको छ।
यसअघि माग्ने बुढाका दुई फरक लुक्स सार्वजनिक भइसकेका थिए, जसले दर्शकमाझ कथाको जिज्ञासा बढाएको थियो। अहिलेको नयाँ तस्बिरले फिल्मले नयाँ मोड लिने संकेत दिएको छ।
फिल्ममा धीरज र माग्ने बुढासँगै प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल जस्ता चर्चित कलाकारको अभिनय रहनेछ। मिलन तामाङ द्वारा निर्देशित यो चलचित्रको छायांकन सुसन प्रजापतिले गरिरहेका छन्।
रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ हुन्।
फिल्मको संगीत पक्ष पनि निकै आकर्षक बनाइएको छ। बलिउडकी चर्चित गायिका संजीवनीले फिल्मको शीर्ष गीत गाएकी छन्, जुन पुरानो ‘माइतीघर’ चलचित्रको कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ…’ को नयाँ संस्करण हो। यस गीतमा जयदेवको संगीत, किरण खरेलको शब्द र रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ।
पारिवारिक संवेदनालाई कथाको मूल मर्म बनाइएको ‘माइतीघर’ आउँदो दशैंको फूलपातीका दिन देशभर प्रदर्शनमा आउने तयारीमा छ।