कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ को अवसरमा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पर्यटन पत्रकारिता तालिम सुरु भएको छ।
नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा लेटाङस्थित कृषि विकास तालिम केन्द्रमा शुक्रबार पर्यटन, वन तथा वातावरण मन्त्री शदानन्द मण्डलले कार्यक्रमको उद्घाटन गर्नुभयो।
धरानस्थित पर्यटन कार्यालयको सहकार्यमा तीन दिनसम्म चल्ने तालिममा प्रदेशका १० जिल्लाबाट ७० जना पत्रकारको सक्रिय सहभागिता रहेको छ।
कार्यक्रममा मन्त्री मण्डलले बोल्दै पर्यटनबारे केही सिक्ने र सिकाउने उद्देश्य राखिएको उल्लेख गर्नुभयो। उहाँले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको कोशी प्रदेशलाई प्रचारप्रसारमार्फत चिनाउन सके समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो।
सञ्चारका माध्यमबाट खोज पत्रकारिता र सरकारलाई खबरदारी गर्न सके कोशीमा पर्यटनको दिगो विकास सम्भव हुने उहाँको भनाइ थियो। मन्त्री मण्डलले सरकारका कामको प्रचारप्रसार र खोजीमार्फत गहिरो विश्लेषण गर्न सके मात्र पर्यटन विकास भई राष्ट्रिय पुँजी निर्माणमा टेवा पुग्ने बताउनुभयो।
पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले कोशी प्रदेशलाई पर्यटकीय सम्भावनाले भरिएको प्रदेशको रूपमा चिनाउँदै यसले आर्थिक समृद्धिमा ठूलो योगदान दिन सक्ने उल्लेख गर्नुभयो। उहाँले भारतसँगको सहज पहुँच, पाँचवटा अग्ला हिमालका चुचुरा जस्ता साहसिक पर्यटकीय गन्तव्य र जैविक विविधता, सिमसार क्षेत्र तथा चरा संरक्षणका पक्षलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। निजी क्षेत्रलाई प्रोत्साहन गरेर मात्र पर्यटन विकास र रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ थियो।
उहाँले भारत बाहेक अन्य देशबाट आउने पर्यटकका लागि स्टिकर प्रणाली लागू गरी सहजता ल्याउनु पर्ने, सूचना सम्पर्क कार्यालय र पर्यटक सुरक्षाका क्षेत्रमा पनि सहज र छिटो सेवा उपलब्ध गराउनु पर्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा उहाँले कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्र र सम्भावनाहरूको बारेमा पनि जानकारी दिनुभएको थियो।
तालिमका प्रशिक्षकको रूपमा कान्तिपुर दैनिकका वरिष्ठ सम्पादक सुरज कुबर रहनुभएको थियो।
कार्यक्रममा लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलाले पर्यटन, पत्रकारिता, कृषि र खेलकुदलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। नगर प्रमुख भूपेन्द्र कुमार लावतीले लेटाङ धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण नगर भएकाले यसको प्रवर्द्धनका लागि पत्रकारहरूको सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष शुसिला पाठकले पत्रकारहरूलाई पर्यटनसँग जोड्न र विकासमा पत्रकारिताको भूमिका प्रभावकारी बनाउन तालिम आयोजना गरिएको जानकारी दिनुभयो।