विराटनगर ।

प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको सहकार्यमा कोशी ब्रोडकास्टिङ नेटवर्कले आयोजना गरेको दुईदिने खेलकुद पत्रकारिता तालिम बुधबार (आज) सम्पन्न भएको छ । खेलकुद विधामा कलम चलाउने पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ मंगलबारबाट विराटनगरमा सुरु भएको उक्त तालिम सकिएको हो ।

नेपाल पत्रकार महासंघ, कोशी प्रदेशका अध्यक्ष भरत खड्का, विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बानियाँ र पूर्वअन्तर्राष्ट्रिय रेफ्री किरण गिरीले तालिममा सहभागी धनकुटा, झापा, सुनसरी र मोरङका १५ जना खेलपत्रकारलाई प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष खड्काले प्रदेश खेलकुद विकास बोर्डको सहयोगले गर्दा खेल ‘बिट’ मा काम गर्ने पत्रकारहरूले आफ्नो क्षमता अब्बल बनाउने मौका पाएको सुनाए । सबै विधाका खेलकुदका नियम तथा रिपोर्टिङका पाटाहरूबारे सिक्दा खेल समाचारमा निखारता आउने भएकाले यस्तो तालिम लिन आवश्यक रहेको उनको भनाइ छ ।

यसैगरी, बानियाँले खेलकुद रिपोर्टिङलाई सकारात्मकतातर्फ डाहोर्‍याउन सके खेलकुद क्षेत्र समृद्ध हुने विचार व्यक्त गरे । तथापि, खेलकुदमा हुने कमी–कमजोरी औंल्याउन पनि पछि पर्न नहुने उनले धारणा व्यक्त गरे ।

त्यसअघि तालिमको अनुगमन गर्दै कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशले खेलकुदलाई उकास्न काम गरिरहेको बताए । खेलाडीको प्रदर्शन र खेलसम्बद्ध संस्थाको राम्रो कामलाई प्रबर्द्धन गरी खराब प्रवृत्तिलाई उजागर गर्न खेलपत्रकारको भूमिका अहम् हुने बताउँदै उनले त्यस्तो कार्यलाई सहज बनाउन आयोजना गरिएको तालिमको सफलताको शुभकामना दिए ।

तालिममा रेडियो कान्तिपुरका स्टेसन म्यानेजर तथा खेलपत्रकार पवन आचार्यले खेलपत्रकारिताको इतिहास, खेलकुदको रिपोर्टिङ र सम्पादनका विषयमा सहजीकरण गरेका थिए । यसैगरी, हाम्रो खेलकुद डटकमका वरिष्ठ संवाददाता सुवास हुमागाईंले खेलकुद रिपोर्टिङमा फोटो–भिडियोको प्रयोग अनि खेल प्रतियोगितामा पत्रकारले अपनाउनुपर्ने सावधानीबारे तालिम प्रदान गरेका थिए ।

यस्तै, मकालु टेलिभिजनका सम्पादक अभयकुमार राईले मोफसलमा खेलपत्रकारिताबारे सहजीकरण गरेका थिए भने खेलसम्बद्ध व्यक्तिका रूपमा नेपाल रग्बी एसोसिएसनका उपाध्यक्ष किरण गिरी र जम्बोरे नेक्सस लन्जका सञ्चालक शुभाशिष कोइरालाले आफ्नो अनुभव साटेका थिए ।

तपाईको प्रतिक्रिया