खोटाङ, १२ असार । रावाबँेसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट ल्याएको छ । गाउँपालिका उपप्रमुख कौशिला गुरुङले १७ औँ गाउँसभामा भौतिक पूर्वाधार विकास र कृषिलाई प्राथमिकतामा राखेर रु ३८ करोड ५६ लाख ५६ हजार ८४३ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
सङ्घीय सरकारसँगको साझेदारी समुपुरक अनुदानबाट बिजुले–लेकखर्क–दुवेकोल–ऐसेलुखर्क सडकको लागि रु एक करोड ७५ लाख, प्रदेश सरकारसँगको समपुरक अनुदानबाट नुनथला–हरमटारकुभिण्डे–जौबारी सडक स्तरोन्नतिको लागि रु एक करोड २५ लाख र वडा नं.–१, ३ र ५ को कार्यालय भवनमा तला थप्नको लागि रु ७५ हजार बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, सङ्घीय सरकार विशेष अनुदानबाट बृहत कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमको लागि रु एक करोड ३० लाख बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभएको छ ।
विनियोजित बजेटबाट गाउँपालिकालाई लिची हबको रुपमा विकास गर्ने लगायतका कृषि कार्यक्रमहरु समेटिने जनाइएको छ । वडागत योजनाहरुका लागि रु दुई करोड दुई लाख, निर्माणाधीन गाउँपालिकाको प्रशासनिक भवनका लागि गाउँपालिकाको तर्फबाट रु ५० लाख बजेट विनियोजन भएको जनाइएको छ ।
आर्थिक विकासको लागि रु एक करोड ८६ लाख ७९ हजार, सामाजिक विकासका लागि रु १९ करोड ११ लाख ८३ हजार ८४३ रकम विनियोजन भएको छ । विद्यार्थीको क्षमता अभिवृद्धिको लागि विद्यालयहरुमा खेलकुद र सँगीत शिक्षक व्यवस्था गर्ने, गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने गाउँसभामा पेश गरिएको नयाँ नीति पारित गरिएको छ ।
गाउँपालिकाको समग्र पूर्वाधार विकासको लागि रु नौँ करोड नौँ लाख ८२ हजार बजेट विनियोजन भएको छ । वातावरण तथा विपद् व्यवस्थापनको लागि रु ३० लाख, सुशासन तथा संस्थागत विकासको क्षेत्रमा रु १८ लाख बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले जानकारी दिनुभएको छ ।
गाउँपालिमा सञ्चालित एकल पुरुष एवम् एकल महिला भत्ता लगायत शिक्षा क्षेत्रका कार्यक्रमहरुलाई निरन्तरता दिएको गाउँपालिकाले बेरोजगार युवाका लागि रोजगारी सृजना गर्ने नीतिसमेत लिएको छ । गाउँपालिकाको कार्यालयमा सञ्चालित १७ गाउँसभामा गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमसमेत पारित भएको जनाइएको छ ।