डा. डीआर उपाध्याय

पछिल्ला केही वर्षयता नेपालका युवाहरूको मनस्थितिलाई बुझ्न प्रयास गर्दा झनझन् गिजोलिएको देखिन्छ । आशा र निराशाबीच झुण्डिएको, आत्मविश्वास, आक्रोशबीच अलमलिएको, सामाजिक सञ्जालमा गाली-घृणाभन्दा बाहिर सोच्न नसकेको तर गहिराइमा देश र भविष्यप्रतिको चिन्ता लुकाएको एक विडम्बनापूर्ण पुस्ता देखिन्छ-अहिलेको नेपाली युवा । यो केवल सामाजिक सञ्जालको ‘ट्रोल कल्चर’ होइन, गहिरो मनोवैज्ञानिक, सामाजिक र नीतिगत विफलताको परिणाम हो ।

देशको राजनीतिक परिदृश्य हेर्दा युवाको मानसिकता बुझ्न गाह्रो पर्दैन । २०४६ सालपछि राजनीतिक स्थायित्वको नाममा भएको अनगिन्ती प्रयोगले देशमा आजसम्म स्थायित्व न ल्याएको मात्र होइन, जनतामा–विशेषतः युवामा–राजनीतिक वितृष्णा गहिरिएको छ । एउटा सरकार बन्यो, एक-दुई वर्ष पनि टिक्न सकेन । त्यसको आलोचना भयो, अर्का आए । तर, प्रणाली उस्तै, सोच उस्तै, स्वार्थ उस्तै । परिवर्तनको भाषण दिनेहरूले पद पाउनेबित्तिकै पुरानै शैली दोहो¥याए । अनि यस्तो चक्रव्यूहले थिचिएको युवा पुस्ता कुन आधारमा आशावादी होस् ?

आजको युवा पुस्ता बाल्यकालमै सशस्त्रयुद्ध, मधेस आन्दोलन, संविधान निर्माण, नाकाबन्दी, भूकम्प जस्ता घटनाबाट गुज्रिएको छ । यी सबै ऐतिहासिक मोडमा उनीहरूले आफूलाई परिवर्तनको आधार ठाने । तर, जब परिवर्तन संस्थागत हुने बेलामा आयो, उनीहरू पन्छाइए, छलिए । अब त युवाले सिधा प्रश्न गर्न थालेका छन्- हामी कहिलेसम्म प्रयोगमात्र भइरहने ? आखिर हाम्रो पालो कहिले आउँछ ?

शिक्षा क्षेत्रमा व्याप्त असमानता, खर्चिलो निजी विद्यालय-कलेज र कमजोर सार्वजनिक शिक्षाले आमयुवा वर्गको भविष्य सुरक्षाहीन बनाएको छ । राम्ररी पढे पनि जागिर छैन । लोकसेवा ढिलो, निजी क्षेत्रको पारिश्रमिक न्यून, आत्मसम्मान झन् न्यून । यसैले जब स्नातक सकिन्छ, धेरै युवा अब कुन देश जाने भन्ने योजना बनाउँछ । देशमा बसेर संघर्ष गर्ने साहस कमहुँदै गएको छ, र यो साहस हराउँदै जानु नेपालको गहिरो सामाजिक संकटको संकेत हो ।

अब, रिस पोख्ने होइन, हिम्मत देखाउने बेला आएको छ । नेपालको समकालीन राजनीतिक परिदृश्यले देशका हरेक तहका नागरिकलाई प्रत्यक्ष-परोक्ष असर पारिरहेको छ, तर तीमध्ये पनि सबैभन्दा बढी प्रभाव परेको वर्ग भनेको युवा वर्ग हो भन्नेमा विवाद छैन । युवा अवस्था जीवनको सबैभन्दा उर्वर समय हो-जहाँ सपनाहरू अंकुराउँछन्, आशाहरू पलाउँछन् र क्रियाशीलताको उत्कर्षमा पुगिन्छ ।

त्यसैगरी, युवा विदेश गएपछि फर्कने सोच राखे पनि वातावरण देखेर दुई पाइला पछि हट्छन् । विदेशमा उनीहरूले सिकेको सीप प्रयोग गर्न न नीतिगत स्पष्टता छ, न राज्यको सहयोग । स्वरोजगार गर्न चाहने युवालाई ऋण पाउन कठिन छ, सरकारी कार्यक्रमहरू फारम, प्रस्ताव, स्वीकृति, कमिसन र अविश्वासको पर्खालमा अल्झिन्छन् । जुनसुकै स्वरोजगार योजना सुरु गर्दा उसले आफूभन्दा पहिले ‘सिस्टमलाई बुझ्न’ बाध्य हुन्छ ।

यस्तो अवस्थाले युवाको ‘अभिव्यक्ति’को माध्यम सामाजिक सञ्जाल बनेको छ । तर, दुर्भाग्यवश, यो अभिव्यक्ति धेरै हदसम्म ‘विष्फोटक रिस’को रूप लिइरहेको छ । फेसबुक, टिकटकजस्ता माध्यमहरू गाली, आरोप-प्रत्यारोप, विगतका घाउ झिकेर खनालिने अखडाजस्ता भएका छन् । जहाँ कुनै व्यक्ति सकारात्मक कुरा गर्छ, समाजलाई प्रेरणा दिन्छ, उसलाई तुरुन्तै ‘पेड पोष्ट’, ‘झोले’, ‘नाटकबाज’ भनेर गाली गरिन्छ । सामाजिक सञ्जाल सकारात्मक सन्देश प्रवाहको माध्यम हुनुपर्नेमा, उल्टो विष वमन गर्ने जंगल बनेको छ ।

यस मानसिक अवस्थाको मूल जरा प्रणालीमा छ । नेपालमा प्रणालीहरू असक्षम, अव्यवस्थित र पहुँचवादी छन् । अवसर, योजना, अनुदान सबैमा पहुँचवालाको कब्जा छ । प्रतिभाभन्दा सम्बन्ध, मिहिनेतभन्दा चाकडी, विचारभन्दा चिप्ला शब्द र झोलाको मूल्य बढेको देख्दा, आशावादी युवाको हिम्मत पनि हरेक दिन च्यातिन्छ । तब, उनीभित्रको आशावाद रिसमा परिणत हुन्छ । त्यो रिस फेसबुकको स्टाटसमा आउँछ, टिकटकको भिडियोमा पोखिन्छ, अन्ततः आफ्नै जीवनको ऊर्जा जलाएर खरानी बनाउने चिहान तयार गर्छ । अब प्रश्न उठ्छ–के सधैं रिसमात्र पोखेर हुन्छ ? के गालीले देश बदलिन्छ ? के नकारात्मकता बढाएर सकारात्मक परिवर्तन सम्भव छ ?

उत्तर स्पष्ट छ-छैन । त्यसैले अब समय आएको छ, रिसलाई रचनात्मकता बनाउने । आशालाई योजनामा रूपान्तरण गर्ने । युवाले अब ‘प्रतिक्रिया’मात्र होइन ‘प्रयास’ गर्नुपर्छ । स्वरोजगार र उद्यमशीलता अब भाषणको शब्द नभई जीवनशैली बन्नुपर्छ । कृषि, प्रविधि, निर्माण, शिक्षा, पर्यटन, साना उद्योग-यी सबै क्षेत्रमा सीप प्रयोग गरिने ‘युवा आन्दोलन’ सुरु गरिनुपर्छ ।

सरकारले अब केवल योजनाको घोषणामै सीमित नरही कार्यान्वयनको प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्छ । स्वरोजगार, सीप विकास, कृषि, पर्यटनमा आधारित उद्यमशीलता कार्यक्रमहरू युवामैत्री हुनुपर्छ । नयाँ सोच र प्रविधिलाई स्वीकार्ने वातावरण बनाइनुपर्छ । उद्यमशीलता पंक्तिमा बसेर फारम भर्ने युवालाई होइन, देशको सामाजिक, आर्थिक र नीतिगत ढाँचा बदल्न सक्ने शक्ति ठान्नुपर्छ ।

साथै समाज र परिवारको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । ‘सरकारी जागिर नै सबैथोक’ भन्ने मानसिकता अब त्याग्नुपर्छ । सानो व्यवसाय, कृषि, परामर्श, परोपकारी सेवा-यी सबैलाई सम्मानको दृष्टिले हेर्न सक्नुपर्छ । विदेश गएका युवालाई ‘कमाएर ल्याउने’ होइन, ‘अनुभव लिएर फर्किएका’को रूपमा स्वीकार्नुपर्छ । र, युवाले पनि आफूलाई राज्यको एक जिम्मेवार हिस्साको रूपमा हेर्नुपर्छ । सधैं गुनासो होइन, विकल्प उत्पादन गर्ने हैसियत बनाउनुपर्छ । गुनासोमात्र होइन, सहभागिता पनि आवश्यक छ-स्थानीय तहदेखि राष्ट्रिय नीति निर्माणसम्म । हरेक निर्वाचनमा उभिनेहरूलाई केवल चिच्याएर गाली गर्ने होइन, प्रश्न गर्ने र उत्तर खोज्ने आदत बसाल्नुपर्छ ।

सामाजिक सञ्जालमा गाली गर्ने होइन, समाधान बाँड्ने प्रयास गरौं । अरूको खुशी देखेर गाली गर्ने होइन, प्रेरणा लिने मनस्थिति विकास गरौं । आफ्नो रिसलाई शक्ति बनाएर, परिवर्तनमा रूपान्तरण गर्ने संस्कृति ल्याऔं । समाप्तिमा, फेरि एक चोटि भनौं, देशप्रतिको माया रिसमा परिणत नहोस् । त्यो रिसले हामीलाई जलाएर खरानी बनाउने होइन, देशको साँचो इन्धन बनोस् । सानोतिनो सोच, काम र विवेकले ठूलो परिवर्तन सम्भव छ । जुन दिन हामीले आफूलाई गुनासो होइन, गर्व गर्ने स्तरमा पु¥याउँछौं, त्यही दिन देश फेरिन सुरु गर्छ । देश फेर्न अरू कोही होइन, तपाईं र हामी नै हो ।

अब, रिस पोख्ने होइन, हिम्मत देखाउने बेला आएको छ । नेपालको समकालीन राजनीतिक परिदृश्यले देशका हरेक तहका नागरिकलाई प्रत्यक्ष-परोक्ष असर पारिरहेको छ, तर तीमध्ये पनि सबैभन्दा बढी प्रभाव परेको वर्ग भनेको युवा वर्ग हो भन्नेमा विवाद छैन । युवा अवस्था जीवनको सबैभन्दा उर्वर समय हो-जहाँ सपना अंकुराउँछन्, आशा पलाउँछन् र क्रियाशीलताको उत्कर्षमा पुगिन्छ । विडम्बना त के भने यही समयको चरम क्षणमा नेपाली युवाहरू निराशा, आक्रोश र असमञ्जसको भुमरीमा फसेका छन् । कारणहरू थुप्रै छन्-राजनीतिक दोहोरो चरित्र, भाषण र व्यवहारबीचको दूरी, विकासमा देखिएको ढिलाइ, अवसरको खडेरी र सपनामा झरेको कुहिरो । आजका युवाको मानसिकता बुझ्न खोज्दा स्पष्ट देखिन्छ-उनीहरू रिसाएका छन्, त्यो रिस व्यक्तिगत होइन, समष्टिगत हो । उनीहरू छटपटीमा छन्, तर त्यो छटपटी आफ्नै जीवनका लागि मात्र होइन, देशको भविष्यप्रति हो ।

२०६२-६३ को जनआन्दोलनमा युवाहरूको भूमिका कुनै सन्देहको विषय थिएन । उनीहरू सडकमा थिए, माइतीघरमा थिए, क्याम्पसको मूलद्वारमा थिए, कलम लिएर लेखिरहेका थिए, ब्यानर उठाउँदै चिच्याइरहेका थिए । तिनै युवाको जोश, प्रतिबद्धता, बलिदानको फलस्वरूप आज हामी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता शब्द उच्चारण गर्न सक्ने ठाउँमा छौं । तर, प्रश्न उठ्छ-के यी शब्दको व्यावहारिक मूल्य पनि युवाको जीवनमा यथार्थ बनेको छ ? के ती युवा, जसले आन्दोलनको अग्रपंक्ति सम्हाले, आज समान उत्साह र गर्वका साथ गणतन्त्रको रक्षा गर्न सकिरहेका छन् ? वा, ती शक्तिशाली शब्द केवल संविधानको पानाभित्र सीमित भएका छन ?

राजनीतिक अस्थिरताको जरो गहिरो छ । निरन्तर सरकार परिवर्तन, गठबन्धनको नाममा गरिएका सौदाबाजी, पार्टी विभाजन र एकताकै अनन्त चक्रले देशमा नीति स्थायित्वको आधार खुम्चिएको छ । यस्तो परिवेशमा युवा वर्गले आफ्नो भविष्यको कल्पना कसरी गरोस् ? विश्वविद्यालय पढ्न भर्ना भएको युवा जब क्याम्पस बन्द हुदाँ वर्षौं पढाइ सक्दैन, जब राज्यले गरिबलाई स्वरोजगारका सपना देखाउँछ तर न नीति दिन्छ न अनुदान–त्यसपछि त्यो युवा कुन आधारमा आशावादी होस् ? विदेश जाने आँट गर्नु अर्को बाध्यता हो, रहर होइन । थुप्रै उदाहरण छन् जहाँ कलेज सकिएलगत्तै युवा मल्टिनेशनल कम्पनी होइन, मलसामान बोक्ने कम्पनीको श्रमिक भइसकेका छन् । साउदीको ४० डिग्रीको घाम, कोरियाको फ्याक्ट्री, इजरायल–जापानको केयर होम अथवा अमेरिकाको भाँडा माझ्ने काम, नेपाली युवाको क्षमता होइन, उसले पाएको विकल्प हो । त्यो विकल्पको थालनी उसको देशले गरिदिएको छ, जहाँ पढे पनि बेरोजगार, सीप लिए नीति छैन, सपना देखे पनि संरचना छैन ।

नेपालको भविष्यको कथा लेख्ने कलम अब युवामै छ । प्रश्न उठाउने, लड्ने, सहने, बनाउने, बिगार्ने सबै अधिकार उनीहरूसँग छ । अब त्यो अधिकार प्रयोग गर्ने साहस देखाउने बेला आएको छ । परिवर्तन, समावेशिता, न्याय, प्रगति-यी केवल आदर्शका शब्द होइनन्, युवाहरूको जीवनका आवश्यकता हुन् । अब ती आवश्यकता पूरा गर्न युवा उठ्नुपर्छ-गुनासो गर्न होइन, समाधान दिन ।

निरन्तर निराशाले थिचिँदै जाँदा युवाको चरित्र परिवर्तन हुँदै जान्छ । उनीहरू गुनासो गर्न थाल्छन्, विरोधमा उत्रिन्छन्, कहिले चिच्याउँछन्, कहिले मौन बस्छन् । सामाजिक सञ्जालहरूमा युवाहरूको आक्रोश पोखिन्छ–फेसबुकको स्टाटस, टिकटकको भिडियो, ट्विटरको ट्रेन्डिङ हृयासट्यागहरूमा । कोही सरकारलाई गाली गर्छन्, कोही दलविशेषलाई । तर, यिनमा एउटा साझा विशेषता छ-असन्तुष्टि । यही असन्तुष्टि नै देशका लागि खतरनाक हुनसक्छ, यदि त्यो व्यवस्थागत परिवर्तनमा रूपान्तरण गर्न सकिएन भने । जब समाजको उत्पादनशील वर्ग निराश हुन्छ, तब देशले नै पुँजी गुमाउँछ । तर, नेपाली युवा अहिले केवल गुनासोमै सीमित छैनन् । उनीहरू समाधान पनि खोजिरहेका छन् ।

स्वतन्त्र रूपमा सडक आन्दोलन गर्नेहरू, शिक्षा सुधारको अभियान चलाउनेहरू, डिजिटल प्लेटफर्मबाट जनचेतना फैलाउनेहरू, उद्यमशीलतामा लागेका युवाहरू-यी सबै एक नयाँ युगको संकेत हुन् । सोसल मिडिया मार्फत सत्तालाई प्रश्न गर्नु, सूचना अधिकार प्रयोग गरेर उत्तर खोज्नु, जनताको सरोकारको विषयमा अनुसन्धान गरी तथ्यसहितको बहस चलाउनु– यी सबै युवाको बदलिँदो चेतनशीलताका प्रतिबिम्ब हुन् । दुर्भाग्यवश, जब यस्तो चेतनशीलता र वैकल्पिक आवाज सत्ताका लागि खतरा ठानिन्छ, त्यसले निराशालाई झनै गहिरो बनाउँछ ।

वैकल्पिक राजनीतिक शक्तिको खाँचो बुझ्जँदै जाँदा, युवा नयाँ सम्भावनाको खोजीमा लागेका छन् । अब उनीहरू पुराना दलहरूलाई विश्वास गर्ने मनस्थितिमा छैनन् । उनीहरूलाई थाहा छ-शब्द, नारा र घोषणा पत्रबाट मात्र देश बनिँदैन । तसर्थ, उनीहरू नयाँ विकल्प सिर्जना गर्न चाहन्छन् । नयाँ भनेर अगाडि आएका शक्ति स्वयं पुरानै प्रवृत्तिको प्रतिरूप बन्न पुगे भने त्यो नयाँपनमाथिको विश्वास भत्किन्छ । यही कारणले वैकल्पिक शक्तिहरूले पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्वप्रति इमानदार हुन जरुरी छ । नत्र, फेरि युवाहरू राजनीतिप्रति वितृष्णा पाल्न थाल्नेछन् । आज वैकल्पिक शक्तिको नाममा भएका केही प्रयोगहरूले जनतामा आशा त जगाएका छन् तर त्यो आशालाई बलियो भरोसामा रूपान्तरण गर्न अझ धेरै श्रम, निष्ठा र धैर्यता आवश्यक छ ।

समस्या जति गहिरो छ, समाधान त्यति नै जटिल छ । केवल गाली गरेर, फेसबुकमा स्टाटस लेखेर, सडकमै नाराबाजी गरेर मात्र परिवर्तन सम्भव छैन । अब युवाहरूको रिस र निराशालाई रचनात्मक उर्जामा बदल्नु जरुरी छ । यसका लागि राज्यको भूमिका महत्वपूर्ण त छ नै, तर युवाहरू स्वयंले पनि आत्मसमीक्षा गर्नु आवश्यक छ । परिवर्तन अरूबाट मात्र अपेक्षा गर्ने होइन, आफूले पनि प्रारम्भ गर्नुपर्ने बेला यही हो । आफ्नो क्षेत्रबाट राम्रो काम गर्नेलाई समर्थन दिने, आलोचना मात्र होइन, विकल्प पनि दिनसक्ने हैसियतमा पुग्नु युवा राजनीतिक चेतनाको परिपक्वता हो । अब राजनीति भनेको केवल दलभित्रको कुर्सी खेल होइन, नीति निर्माण, योजना कार्यान्वयन, जवाफदेहिता सुनिश्चित गर्नु हो भन्ने बुझाइ बनाउन आवश्यक छ ।

युवालाई राजनीति भनेको दलको सदस्यता लिनुमात्र होइन । राजनीति भनेको समाजको हरेक तहमा न्याय र समानताको लडाइँ हो । युवा अभियन्ता, पत्रकार, शिक्षक, समाजसेवी, अनुसन्धानकर्ता सबै प्रकारका युवा आ–आफ्नो तहबाट राजनीतिक परिवर्तक हुनसक्छन् । किनकि राजनीति केवल संसदभित्र सीमित छैन, यो त कलेजको डेस्कदेखि गाउँको पार्टीसम्म, फेसबुक पोष्टदेखि सडकको जुलुससम्म फैलिएको जीवन्त प्रक्रिया हो । परिवर्तनको नेतृत्व गर्न चाहने युवाहरूले शिक्षा, व्यवहार र दृष्टिकोणका तहमा आफूलाई सक्षम बनाउनु आवश्यक छ ।

यदि अब पनि युवाहरू बिथोलिए भने राजनीतिक दलहरूले तिनको ऊर्जा उपयोग गर्न सकेनन् भने नयाँ विकल्प इमानदार बन्न सकेनन् भने स्थिति भयावह हुनसक्छ । निराश, बेकामे, रिसाले भरिएका लाखौं युवा समाजमा यदि लक्ष्यविहीन बन्दै गए, तब तिनीहरू आफैंप्रतिमात्र होइन, राष्ट्रप्रति पनि हानिकारक बन्न सक्छन् । अबको चुनौती भनेकै-राष्ट्रले युवा चाहिएको जस्तो चाहनु होइन, युवाहरूले चाहिएको राष्ट्र निर्माण गर्ने दिशामा अघि बढ्नु हो ।

समस्या गहिरो छ, तर समाधानको बीउ पनि युवामै छ । उनीहरूले चाहने हो भने, वर्तमान राजनीतिक संस्कृति बदल्न सक्छन् । उनीहरूले कल्पना गर्ने हो भने, वैकल्पिक शक्तिलाई इमानदार बनाइराख्न सक्छन् । उनीहरूले विश्वास गर्ने हो भने, देशमै बसेर सपना साकार पार्न सक्छन् । फेरि पनि आन्दोलन हुनसक्छन्, तर ती आन्दोलन केवल नाराका लागि होइन, नीतिका लागि, मूल्यका लागि र नयाँ संस्कारका लागि हुनुपर्छ । परिवर्तनको यात्रा कहिल्यै सजिलो हुँदैन । प्रत्येक कठिनाइभित्र नयाँ सम्भावना लुकेको हुन्छ । नेपाली युवाको कठोर अनुहार फेरि चम्कन सक्छ यदि तिनले आफैंभित्र परिवर्तनको बीज रोप्न सके भने ।

नेपालको भविष्यको कथा लेख्ने कलम अब युवामै छ । प्रश्न उठाउने, लड्ने, सहने, बनाउने, बिगार्ने सबै अधिकार उनीहरूसँग छ । अब त्यो अधिकार प्रयोग गर्ने साहस देखाउने बेला आएको छ । परिवर्तन, समावेशिता, न्याय, प्रगति-यी केवल आदर्शका शब्द होइनन्, युवाको जीवनका आवश्यकता हुन् । अब ती आवश्यकता पूरा गर्न युवा उठ्नुपर्छ-गुनासो गर्न होइन, समाधान दिन । यही बाटोले नेपाली राजनीति र समाजलाई नयाँ दिशा दिन सकिन्छ । यही बाटोबाट निराश अनुहारमा आशाको मुस्कान फिर्ता ल्याउन सकिन्छ । यही बाटोले अबको नेपाल बनाउन सक्छ–युवा नेतृत्व, साहस र दृष्टिकोणको बलमा ।

(लेखक डा.उपाध्याय विश्वकीर्तिमानी व्यक्तित्व हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया