बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ मा रहेको जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार बुधबार राति करिब सवा ९ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो । घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको छ ।
प्रहरीका अनुसार उक्त भट्टीमा जगदम्बा स्टिल्सले उत्पादनका लागि फलाम पकाउने काम हुने गरेको थियो ।
उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशङ्का गरिए पनि एक जना मात्र घाइते भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहेका छन् ।
अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ भने आगो नियन्त्रण आइसकेको छ।
के कारणले विस्फोट र अन्य के के क्षति भयो भन्नेबारे यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।