किएभ, युक्रेन,  २०८२ असार २१ गते शनिबार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रूसद्वारा हालै गरिएको सबैभन्दा ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा प्रतिबन्धबारे गम्भीर छलफल भएको जानकारी दिनुभयो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले ट्रम्पसँग वार्ता गरी सुरक्षा सुदृढ गर्न सहमति भएको बताउनुभयो ।

रुसी आक्रमणपछि युक्रेनभर हवाई सायरन बजेको थियो र राजधानी किएभसहितका धेरै स्थानमा विस्फोट सुनिएको थियो । युक्रेनी सुरक्षाकर्मीले ५३९ ड्रोन र ११ मिसाइल मध्ये धेरैलाई नष्ट गरेका थिए । कीएभमा कम्तीमा २६ जना नागरिक घाइते भएका छन् ।

पोल्यान्डको किएभस्थित दूतावासमा समेत क्षति पुगेको छ, यद्यपि कर्मचारीहरू सुरक्षित छन् ।

रुसले आफ्नो उद्देश्यहरू शान्तिपूर्ण तरिकाबाट हासिल गर्न चाहेको बताएको छ । यद्यपि, आवश्यक परे ‘विशेष सैनिक अभियान’ जारी राख्ने जनाएको छ ।

त्यसैदिन, युक्रेन र रूसबीच बन्दी साटासाट पनि गरिएको छ, जुन अघिल्लो वार्ताको निरन्तरता हो । एएफपी

तपाईको प्रतिक्रिया