आगामी प्रतिनिधि सभा निर्वाचनको दिन देशभरका सिनेमा हलहरू बन्द रहने भएका छन्। निर्वाचन प्रक्रियालाई सहयोग गर्दै कर्मचारीहरूलाई मतदानको अवसर उपलब्ध गराउन यो निर्णय लिन लागिएको हो। प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र संघ का उपाध्यक्ष गोपालकाजी कायस्थका अनुसार फागुन २१ गते हलहरू बन्द रहने विषयमा बुधबार बस्ने बैठकले औपचारिक निर्णय गर्नेछ।
संघको औपचारिक निर्णय आउनुअघि नै केही हलहरूले सामाजिक सञ्जालमार्फत निर्वाचनको दिन सेवा बन्द रहने सूचना सार्वजनिक गरिसकेका छन्। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स ले पनि सूचना जारी गर्दै मतदानलाई प्राथमिकता दिँदै फागुन २१ गतेका साथै २० र २२ गते पनि केही स्थानका शोहरू प्रभावित हुन सक्ने जनाएको छ। चुनावी माहोलका कारण पछिल्ला दिनहरूमा हलहरूमा दर्शकको उपस्थिति उल्लेख्य रूपमा घटेको छ। हाल प्रदर्शनरत फिल्ममध्ये आ बाट आमा ले मात्र अपेक्षाकृत दर्शक तानिरहेको देखिन्छ। यसबाहेक नेपाली फिल्मतर्फ कुमारी, प्रवासी जीवन र रमिताको पिरती प्रदर्शनमा छन्। विदेशी फिल्मतर्फ ओ रोमियो, स्क्रिम ७ र क्राइम १०१ हलहरूमा चलिरहेका छन्।
निर्वाचनपछि फागुनको अन्तिम रिलिजका रूपमा लालिमा फागुन २९ गते प्रदर्शनमा आउने तयारीमा छ। त्यस्तै, चैत महिनामा हामी तीन भाइ, राम नाम सत्य र ३६ को आँकडा रिलिज हुनेछन्। साथै चैत पहिलो साता, मार्च १९ मा दक्षिण भारतीय फिल्म टक्सिक र बलिउडको धुरन्धर २ पनि प्रदर्शनको तयारीमा रहेका छन्।
चुनावको प्रभावले केही दिन हलहरूको व्यवसाय प्रभावित हुने देखिए पनि, त्यसपछि प्रदर्शन तालिका फेरि नियमित हुने अपेक्षा गरिएको छ।










