पैचिङ । सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य व्यापारिक दबाबका बीच चीनले आफ्नो वार्षिक राष्ट्रिय राजनीतिक अधिवेशन सुरु गर्न लागेको छ । बेइजिङमा हुने यस उच्चस्तरीय भेलामा आगामी पाँच वर्षका प्राथमिकता, आर्थिक लक्ष्य र नीतिगत दिशाबारे स्पष्ट खाका प्रस्तुत गरिने अपेक्षा गरिएको छ ।

विश्लेषकहरूले यसलाई चीनको भावी आर्थिक र राजनीतिक मार्गचित्र निर्धारण गर्ने महत्त्वपूर्ण क्षणका रूपमा हेरिरहेका छन् । यस अवसरमा चीनको औपचारिक व्यवस्थापिका राष्ट्रिय जन कङ्ग्रेसको बैठक बस्नेछ । बैठकमा देशका प्रमुख नीतिगत निर्णयहरू अनुमोदन गरिन्छन् । करिब तीन हजार सदस्य सहभागी हुने यस निकायले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वबाट अघि सारिएका कानून तथा प्रस्ताव पारित गर्ने छ ।

यद्यपि मतदान प्रक्रिया औपचारिक रूपमा सञ्चालन हुन्छ, निर्णय प्रायः सर्वसम्मत पारित हुने परम्परा रहँदै आएको छ । यससँगै चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको बैठक पनि आयोजना हुँदैछ । समाजका विभिन्न क्षेत्र व्यवसायी, शिक्षाविद, वैज्ञानिक, खेलाडी तथा अल्पसङ्ख्यक समुदायका प्रतिनिधि समेटिएको यो सल्लाहकार निकायले सुझाव प्रस्तुत गर्ने भूमिका निर्वाह गर्छ । तर सार्वजनिक नीतिमा यसको प्रत्यक्ष निर्णयाधिकार सीमित रहेको बताइन्छ ।

विगतमा यी वार्षिक बैठकलाई नीतिगत बहस र छलफलको मञ्चका रूपमा लिइन्थ्यो । सिङ्गापुरको नेसनल युनिभर्सिटीका सार्वजनिक नीतिका प्राध्यापक अल्फ्रेड वुले विगतका वर्षमा केही विवादास्पद विषयमा समेत खुला छलफल हुने गरेको स्मरण गर्नुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा भने बैठक बढी औपचारिक, नियन्त्रित र प्रस्तुतीकरण मुखी बन्दै गएका छन् ।

यस वर्षको अधिवेशनमा अर्थतन्त्र मुख्य एजेन्डा बन्ने निश्चित जस्तै देखिएको छ । चिनियाँ प्रधानमन्त्रीले वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर लक्ष्य तथा रोजगारी, मुद्रास्फीति र सरकारी खर्च सम्बन्धी सूचक सार्वजनिक गर्ने कार्यक्रम छ । विशेष ध्यान १५औँ पञ्चवर्षीय योजनामा केन्द्रित हुने छ, जसको प्रारम्भिक मस्यौदा गत अक्टोबरमा सार्वजनिक गरिएको थियो । उक्त योजनाले प्राविधिक आत्मनिर्भरता, नवप्रवर्तन र उच्च गुणस्तरको विकासलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।

चीनले योजनाबद्ध अर्थतन्त्रको ऐतिहासिक अभ्यासअनुसार पञ्चवर्षीय योजनामार्फत दीर्घकालीन विकास रणनीति तय गर्दै आएको छ । तर वर्तमान परिस्थितिमा अर्थतन्त्र चुनौतीपूर्ण मोडमा पुगेको छ । युवा बेरोजगारी उच्च रहेको छ, आवास बजार कमजोर देखिएको छ र घरेलु उपभोग अपेक्षाकृत सुस्त छ । यसबीच अमेरिकासँगको व्यापार तनावका कारण चिनियाँ वस्तुमा लगाइएको अतिरिक्त करले निर्यात क्षेत्र थप प्रभावित भएको छ ।

बनीति विश्लेषकका अनुसार चीनले अब प्रविधि आधारित उत्पादन-रोबोटिक्स, नवीकरणीय ऊर्जा र कृत्रिम बौद्धिकता (एआई) लाई तीव्र रूपमा अघि बढाउँदै आन्तरिक बजार सुदृढ गर्ने रणनीति अवलम्बन गर्नु पर्ने छ । तर प्रविधि आपूर्ति शृङ्खला अझै सीमित रहेकाले त्यसको लाभ व्यापक जनस्तरसम्म कसरी पुर्याउने भन्ने चुनौती कायम छ । एसिया सोसाइटीका नीति विज्ञ नील थोमस र लोब्साङ सेरिङले चीनले यस वर्ष आफ्नो आर्थिक वृद्धिदर लक्ष्यलाई रेकर्ड न्यून स्तरमा झार्न सक्ने अनुमान गर्नु भएको छ ।

उहाँहरूले यसलाई तीव्र वृद्धिबाट गुणस्तरीय वृद्धितर्फको रूपान्तरणको सङ्केतका रूपमा व्याख्या गर्नुभएको छ । राजनीतिक र सैनिक संरचनाभित्र पनि केही परिवर्तन देखिएका छन् । गत जनवरीमा दुई वरिष्ठ जनरललाई पदबाट हटाइएको थियो । त्यसपछि व्यवस्थापिकाले थप १९ सदस्यलाई बर्खास्त गरेको छ । हाल केन्द्रीय सैन्य आयोगमा सेनालाई प्रत्यक्ष नियन्त्रण गर्ने सदस्य सङ्ख्या घटेको छ । यद्यपि विश्लेषकले तत्कालै ठूला कर्मचारी फेरबदलको घोषणा हुने सम्भावना कम रहेको बताएका छन् ।

सेन्टर फर स्ट्रेटेजिक स्टडिजले सार्वजनिक गरेको अध्ययनअनुसार राष्ट्रपति सी जिनपिङको नेतृत्वमा पछिल्ला चार वर्षभित्र पिपुल्स लिबरेसन आर्मीका करिब एक सय वरिष्ठ अधिकारी हटाइएका छन् । तीमध्ये जनवरीमा पदमुक्त गरिएका जनरल झाङ युक्सिया प्रमुख नामका रूपमा उल्लेख गरिन्छन् । तर नेतृत्वले प्रतिस्थापन प्रक्रियामा हतार नगर्ने सङ्केत देखिएको छ ।

प्राध्यापक वुले उदाहरण दिँदै विदेशमन्त्रीको जिम्मेवारी सम्बन्धी घटनालाई स्मरण गर्नुभयो । किन ग्याङ पदमुक्त भएपछि वाङ यीलाई पुनः जिम्मेवारी दिइएको प्रसङ्ग उल्लेख गर्दै उहाँले उच्च तहका निर्णय रणनीतिक रूपमा लिइने बताउनुभयो । समग्रमा, बेइजिङमा सुरु हुन लागेको यो वार्षिक राजनीतिक अधिवेशन चीनका लागि केवल औपचारिक कार्यक्रम मात्र नभई आगामी पाँच वर्षको विकास दिशा स्पष्ट गर्ने अवसरका रूपमा प्रस्तुत भएको छ । आर्थिक पुनरुत्थान, प्रविधिमा आत्मनिर्भरता र आन्तरिक स्थिरता सुदृढ गर्ने लक्ष्यसहित चीनले कस्तो मार्गचित्र सार्वजनिक गर्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ । एपी 

तपाईको प्रतिक्रिया