विराटनगर÷ विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी मुस्कान पन्त प्रथम भएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा आयोजित प्रतियोगितामा पन्त प्रथम भएकी हुन् । ‘नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान’ शीर्षकमा आयोजित प्रतियोगितामा पोखरिया माविकी सिम्रन सफल मैनाली द्वितीय भइन् । सत्यनारायण माविकी भारती अधिकारी तृतीय हुँदा पोखरियाकी स्मिता मिश्र, पोलस्टारकी प्रकृति घिमिरे र जनता नमुना माविकी खुसी साहले प्रोत्साहन पुरस्कार प्राप्त गरे । साहित्यकार हरि कट्टेल, भरत गुरागाईं ‘बर्बरिक’ र कवि एवं पत्रकार मीनकुमार नवोदित सम्मिलित निर्णायक समितिले पुरस्कृत विद्यार्थीहरुको नामावली घोषणा गरेको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमशः ५, ३, २ र १–१ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष केशवप्रसाद गौतम, उपाध्यक्ष देवी घिमिरे, सचिव राम घिमिरे, निर्णायकहरु मीनकुमार नवोदित, हरि कट्टेल, भरत गुरागाईं ‘बर्बरिक’लगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुष्पलाल श्रेष्ठको योगदान अतुलनीय रहेको चर्चा गरे ।
पुष्पलालको स्मृति दिवसमा स्मारकले ४ गते आइतबार सरसफाई, ५ गते सोमबार सौन्दर्यकरण, ६ गते मंगलबार झण्डोत्तोलन एवं दीप प्रज्वलन र ७ गते बुधबार पुष्पलालको प्रतिमामा माल्यार्पणसहित पुरस्कार वितरण र समापन समारोह राखिएको अध्यक्ष केशवप्रसाद गौतमले जानकारी दिए ।
अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्शकी मुस्कान प्रथम
