काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागका अनुसार हिजो ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालित परीक्षामा १४ हजार एक सय ७३ जना विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये १० हजार आठ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । ४० अङ्क नकटाउने विद्यार्थीहरूलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ ।
देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार दुई सय २९ आवेदनमध्ये १६ हजार एक सय ३७ जना विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए ।
छात्रवृत्ति प्रवेश परीक्षाको नजिता महानगरपालिकाको आधिकारिक वेबसाइट तथा entrance.kathmandu.gov.np मा प्रकाशित भएको छ । विद्यार्थीहरूले एसईईको सिम्बोल नम्बर, जन्ममिति र इमेल वा एसएमएस मार्फत प्राप्त पासवर्ड प्रयोग गरी नतिजा हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन् ।
काठमाण्डौ महानगरपालिका अन्तर्गत सञ्चालित एक सय ६० वटा संस्थागत विद्यालयमा चार हजारभन्दा बढी छात्रवृत्ति सिट उपलब्ध छन् ।