भाइटीकाको अवसर पारेर कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘वरिष्ठ बलराम’ ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । ‘न्याउली वनैमा’ शीर्षकको यो गीत लोक शैलीमा सजिएको छ, जसमा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीले स्वर दिएका छन् । गीतका शब्द तथा संगीत सिवाकोटी स्वयंले तयार गरेका हुन् । प्रेमभावलाई केन्द्रमा राखिएको गीतले प्रियतमलाई मनको गहिराइमा स्थान दिने भाव व्यक्त गर्छ ।
गीतको भिडियोमा प्रमुख जोडी विजय बराल र समृद्धि अर्याललाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ । कोरियोग्राफर प्रदीप लामाको निर्देशनमा उनीहरूको आकर्षक नृत्य र रोमान्टिक प्रस्तुतिले गीतलाई अझै मनमोहक बनाएको छ । भिडियोले उनीहरूबीचको मायालाई उजागर गर्दै प्रेमको संसार बसाउने चाहना देखाउँछ ।
सुरेन्द्र पौडेल निर्देशित यो फिल्ममा विजय–समृद्धिसँगै दयाहाङ राई, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरीलगायतका कलाकारको अभिनय छ । कथा र सम्पादन निर्देशक पौडेलकै रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको सहकार्यमा तयार भएको ‘वरिष्ठ बलराम’ का निर्माता आशिष एच. तामाङ र श्रीराज कार्की हुन् । फिल्मको छायांकन मनकृष्ण महर्जनले, द्वन्द्व निर्देशन सम्राट बस्नेतले र नृत्य निर्देशन प्रदीप लामाले गरेका छन् । प्रशान्त सिवाकोटीले संगीत भरेको यस सामाजिक कथामा आधारित चलचित्रको छायांकन चितवनमा सम्पन्न गरिएको हो ।