विश्वविख्यात पप स्टार रिहाना तेस्रो पटक आमा बनेकी छिन्। ३७ वर्षीया गायिकाले सेप्टेम्बर १३ मा छोरीलाई जन्म दिएकी हुन्। हलिउड मिडियाका अनुसार रिहानाले नवजात शिशुको पहिलो तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आफ्ना प्रशंसकलाई खुसीको खबर सुनाएकी हुन्।
तस्वीरमा गुलाबी पोशाकमा सजिएकी उनकी छोरी आमाको काखमा शान्तिपूर्वक निदाएको देखिन्छ। रिहानाले छोरीको नाम रकी आइरिस मेयर्स राखेको जानकारी समेत पोस्टमार्फत दिएकी छन्।
छोरी जन्मिएसँगै रिहाना–एएसएपी रकी दम्पतीको सन्तान संख्या तीन पुगेको छ—दुई छोरा आरजेडए र रायट, र कान्छी छोरी रकी आइरिस मेयर्स। परिवारका सबै सदस्यको नाम ‘आर’ अक्षरबाट सुरु हुने भएकाले प्रशंसकले सामाजिक सञ्जालमा रमाइलो टिप्पणी गर्दै बधाई दिएका छन्।
पिपल म्यागजिनले उद्धृत गरेको स्रोतअनुसार, “रिहाना सधैं ठूलो परिवार चाहन्थिन्। छोराहरूलाई नयाँ भाइबहिनी दिन पाउँदा उनी र रकी निकै खुसी छन्।”
पुनः आमा बनेकी रिहानालाई विश्वभरबाट शुभकामना र बधाई सन्देशहरूको ओइरो लागिरहेको छ।