सिम्रन परियारको मधुर स्वरमा सजिएको ‘चुना लाएर’ बोलको गीत सार्वजनिक भएको छ। दिनेश सुवेदीले रचना गरेको शब्दलाई बाबुल गिरीको संगीतले अझ भावपूर्ण बनाएको छ।
भिडियोमा मोडल इशा परियारले आफ्ना आकर्षक नृत्यका साथ दर्शकलाई मन्त्रमुग्ध बनाएकी छिन्। लामो समयदेखि मोडलिङ क्षेत्रमा सक्रिय इशाले यसअघि नायक पल शाहसँगको ‘डार्लिङ डार्लिङ’ गीतमा पनि दमदार उपस्थिति जनाइसकेकी थिइन्। एक दर्जनभन्दा बढी भिडियोमा नृत्य गरिसकेकी उनले यसपटक पनि आफ्नो मिहिनेत र मोहक प्रस्तुति मार्फत छुट्टै छाप छोडेकी छिन्।
भिडियोमा इशासँगै विशाल कैनी, रमेश अधिकारी, रमेश वुढाथोकी र दीपेन्द्र कुँवरको अभिनय पनि समावेश छ। विशाल कैनीकै कोरियोग्राफी र निर्देशनमा बनेको यस भिडियोमा मिलन विश्वकर्माले सम्पादन र नवराज उप्रेतीले छायांकन गरेका छन्।
‘चुना लाएर’को यो भिडियोमा इशाको छल्किएको करिश्मा र पोखिएको कथा दर्शकले गहिरो रुपमा महसुस गर्नेछन्।