फूलपातीका दिनबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र *‘बलिदान’*लाई केन्द्रीय चलचित्र जाँच समितिले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरेको छ। यसअनुसार सबै उमेरका दर्शकले अभिभावकको साथमा फिल्म हेर्न पाउनेछन्।
शुक्रबार सम्पन्न सेन्सर प्रक्रियापछि समितिलेति चलचित्रलाई PG श्रेणीमा पार्ने निर्णय लिएको हो। निर्देशक सन्तोष सेनको यो कृतिमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायत चर्चित कलाकारको अभिनय समावेश छ।
निर्माता पक्षका अनुसार हालसम्म करिब २५० शो सुनिश्चित भइसकेका छन् भने, दर्शकको चासो र हल सञ्चालकहरूको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ। अग्रिम टिकट बिक्री सुरु भएसँगै हलहरूमा उत्साहजनक प्रतिक्रिया देखिएको छ, जसले चलचित्रप्रति उच्च अपेक्षा बढाएको छ।
‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। दशैँको पर्वमा ‘बलिदान’ पारिवारिक मनोरञ्जनको प्रमुख विकल्प बन्ने निर्माण टिमको विश्वास छ।