निर्देशक चन्द्र पन्तले निर्माण गर्दै आएको ‘आ बाट आमा’ को छायांकन सकिएको छ। सुरुमा ३० दिनको योजना बनाएपनि, प्राविधिक र कलाकारहरूको सहकार्यका कारण चलचित्र २५ दिनमै खिचाइ पूरा भएको निर्देशक पन्तले जनाए।
चितवन र काठमाडौंका विविध स्थानमा छायांकन गरिएको यो फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। फिल्ममा आमाबाबु र सन्तानबीचको सम्बन्ध, माया र स्नेहलाई केन्द्रमा राखिएको छ।
मुख्य अभिनेता पल शाहले दर्शकले आफूलाई हौसला दिने विश्वास व्यक्त गर्दै यो फिल्मबाट निकै आशावादी रहेको बताए।
आर्या इन्टरटेनमेन्टको ब्यानरमा बनेको यस फिल्ममा नवराज उप्रेतीको छायांकन (डीओपी), तथा कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहनेछ।
छायांकन सम्पन्न भएको दिन नै पल शाहले निर्देशक पन्तकै अर्को नयाँ फिल्ममा पनि साइन गरेका छन्। नयाँ प्रोजेक्टको नाम भने अहिले तय भइसकेको छैन। अन्य कलाकार र टिमबारे चाँडै सार्वजनिक गर्ने तयारी निर्देशकको छ।