फूलपातीको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘बलिदान’ मा मुख्य नायक समीर भट्ट लगातार हल–हलमा पुगिरहेका छन् । रिलिजको पहिलो दिनदेखि नै दर्शकसँग भेटघाट गर्दै आएका उनी तेस्रो दिनमा पनि काठमाडौंका विभिन्न हल पुगेका छन् ।

सन्तोष सेन निर्देशित यस फिल्ममा समीरको अभिनय र एक्सनको निकै चर्चा भइरहेको छ । हलमा पुगेका दर्शकहरूले ‘समीर’को नाममा नारा लगाउनेसम्म गरेका दृश्य देखिएको छ । करिब एक वर्षपछि समीरको नयाँ फिल्म पर्दामा आएको हुनाले पनि दर्शकमा उत्साह बढी देखिएको हो ।

चलचित्र विकास बोर्डको बक्स अफिसले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘बलिदान’ ले दुई दिनमै १ करोडभन्दा बढी ग्रस कलेक्शन गरेको छ । करिब ६ करोड रुपैयाँको लगानीमा बनेको यस फिल्मले लगानी सुरक्षित गर्न १४ करोडभन्दा बढी कमाउनुपर्ने हुन्छ ।

फिल्ममा समीरसँगै ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, हेमन्त वुढाथोकी, कविता रायलगायत कलाकारहरूको पनि अभिनय छ । हल–हलमा समीरसँगै निर्देशक सन्तोष सेन, कार्यकारी निर्माता प्रेम पुरी र नायिका ऋचा शर्मा पनि उपस्थित भइरहेका छन् ।

तपाईको प्रतिक्रिया